इस्लामाबाद– विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ ।

घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजन मार्फत मङ्गलबार गरेको सम्बोधनमा भारतलाई काश्मिर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन् ।

साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उनले भारतले आफूहरुमाथि आक्रमण गरेमा आफूहरु पनि प्रतिकार गर्न तयार रहेको बताए ।

गतहप्ता भारत प्रशासित काश्मिरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि सो घटना पाकिस्तानले गराएको भारतको आरोप छ ।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकू सङ्गठन जैस ए मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टी गर्न चुनौती दिएका छन् ।

विनाप्रमाण दोष नलगाउन पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारत पक्षलाई आग्रह गरेका छन् । उनले भने, ‘भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्ने छ र प्रतिकार पनि गर्नेछ ।’

काश्मिर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउदै उनले पाकिस्तान आफैँ स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारे ।
उनले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न आह्वान पनि गरे । त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ ।

सन् १९४७ मा विभाजन भएदेखि नै दुवै देशले काश्मिर आफ्नो अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन् । काश्मिरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ ।

आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

बिहीबारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ ।