१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मलेसियाको आतंककारीलाई नेपालमा सार्वजनिक मुद्दा

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७३, मंगलवार ०६:१४

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्नेतले भ्रष्टाचारजन्य आफ्नो गलत कामलाई साथ नदिँदा गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहलाई आतंककारीको अभियोग लगाएर नेपाल फिर्ता पठाएको तथ्य खुलेको छ । मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई गैरकानुनी रूपमा दिइएको ठेक्कामा साथ नदिएपछि प्रतिष्ठित व्यवसायी शाहलाई आतंककारीको अभियोग लगाई फिर्ता पठाइएको पाइएको हो ।

राजदूत बस्नेतले पत्र काटेर शाहलाई डिपोर्ट गर्न भनेपछि मलेसिया सरकारले पक्राउ गरी १४ दिन हिरासतमा राखेर नेपाल डिपोर्ट गरेको थियो । नेपाल ल्याएपछि भने उनलाई सार्वजनिक मुद्दा चलाइएको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई दुव्र्यवहार गरेको अभियोग लगाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरी सार्वजनिक मुद्दा चलाइएको थियो । ‘मलाई जुन अभियोग मलेसियामा राजदूतले लगाएर फिर्ता पठाउनुभयो, नेपाल आएपछि त्यो अभियोग लगाइएन, प्रहरीले राजदूतले भनेजस्तो अभियोग होइन भन्ने प्रमाणित गरदियो,’ अब को दोषी हो ? यसको छानबिन गरी कि मलाई अभियुक्त प्रमाणित गरियोस् कि आफ्नै देशको निर्दाेष नागरिकलाई फसाउने राजदूतमाथि कारबाही होस्,’ शाहले भने ।

शाहले राजदूत बस्नेतले नेपालीको हितविपरीत काम गर्दै आर्थिक अनियमितता गरेपछि एनआरएनले विरोध गरेको र सोही कारण जसरी पनि मलेसियामा बस्न नदिने भन्दै पदीय दुरुपयोग गरी आईएसको सदस्य रहेको अभियोग लगाएर डिपोर्ट गराएको बताए । गैरकानुनी ठेक्का दिएर मलेसिया दूतावासकै परिसरमा कार्यालय राख्न निःशुल्क ठाउँ उपलब्ध गराएको विरोध गर्दा राजदूत बस्नेतले पदीय दुरुपयोग गरी आफूलाई फसाएको शाहको भनाइ छ ।

दूतावासले १२ सय ५० रिंगेटको रसिद दिएर २१ सयसम्म असुली गरी नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने कामको विरोध गरेकोलगायतका कारण रिसइबी साँध्न आतंककारी जस्तो अति संवेदनशील अभियोग लगाएर फसाउन खोजेको शाहले बताए । ‘राजदूतले कोप्रासी संस्थासँग मिलेर भ्रष्टाचार गरेको विरोधमा एनआरएनए मलेसियाका निवर्तमान महासचिव सुनिल चालिसेले ३६ करोड घोटाला भएको जनाई सर्वोच्च अदालतमा मुद्दा हाल्नुभयो, राजदूतले हामीलाई मुद्दा फिर्ता लिन निर्देशन दिनुभयो, तर फिर्ता नगरेको र आफ्नो भ्रष्टाचारमा साथ नदिएका कारण फसाउने काम भयो,’ शाहको गुनासो छ ।

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र श्रम विभागका महानिर्देशकसहितको टोली मलेसिया पुगेको बेला सन् २०१६ जनवरीमा राजदूतको गैरकानुनी कामको विरोध गर्दै मलेसियामा रहेका नेपालीलाई टिकट, सेवा शुल्क, जरिवाना, यातायात, बिमासमेत गरी १३ सय २० रिंगेटमा स्वदेश फिर्ता गर्न सकिने तथ्य राखेपछि जसरी पनि मलेसियाबाट फिर्ता पठाउने अभियानमा राजदूत लागेको बताए ।

केही गर्दा पनि फसाउन नसकेपछि पदीय दुरुपयोग गर्दै आईएसको बिल्ला भिराएर डिपोर्ट गराइयो,’ शाहले भने । राजदूत बस्नेत आफैंले इन्द्रवीर महर्जन र दुर्गाप्रसाद खरेलको नाममा झूटो आरोपको निवेदन दिन लगाई सोही बहानामा मलेसिया सरकारलाई पत्राचार गरेको उनको भनाइ छ । नेपाली दूतावासकै पत्रका आधारमा मलेसिया प्रहरीले पक्राउ गरी १४ दिन राखी पाँच वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाएको छ । ‘मलेसियामा अनुसन्धान गर्दा कुनै अभियोग पुष्टि भएन, तर दूतावासको पत्रकै आधारमा डिपोर्ट गरी मलेसियामा रहेको मेरो चल–अचल सबै सम्पत्ति रोक्का राखी भिसासमेत रद्द गरी नेपाल फर्काइदिएको हो,’ शाहले भने ।

उनले मलेसियाबाट नेपाल अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौं लगेको तर अनुसन्धानमा कुनै कसुर नभएकाले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर छाडेको बताए । ११ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्दा राजदूत बस्नेतले दाबी गरेअनुसारको कुनै कसुरमा संलग्नता नदेखिएका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ हजार धरौटीमा छोडिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि शाहको विषयमा अनुसन्धान गरेको थियो । तर, ब्युरोले पनि आतंककारीको अभियोग लगाउन नमिल्ने बताएको छ ।

शाहले राजदूत बस्नेतले गरेका गैरकानुनी कामका कारण मलेसियामा रहेका थुपै्र नेपाली नागरिकसमेत लुकीछिपी पीडादायी जीवनयापन गर्न बाध्य भएको जानकारी दिए । ‘१ सय १४ विदेशीको नक्कली भिसा लगाएको जस्तो गम्भीर र तथ्यहीन आरोप लगाई पदको चरम दुरुपयोग गरेर राजदूतले नै हामी नेपालीमाथि दुश्मनको व्यवहार गर्नुभयो, हामीलाई न्याय चाहिएको छ, सरकारले न्याय दिई राजदूतले लेखेको पत्र फिर्ता गराउनुपर्छ,’ शाहले भने ।

उनले राजदूतले आरोप लगाएजस्तै आईएससँग संलग्नता प्रमाणित गरी जेल हाल्न वा निर्दाेष भएको प्रमाण दिई पुनः मलेसियामा आफ्नो व्यापार विस्तार गर्ने अवसर सिर्जना गर्न सरकारसँग माग गरेका छन् । ‘दूतावासले गरेका गलत कामको विरोध गरेकै कारण आफ्नो व्यापार व्यवसायमा संलग्न नेपाली नागरिक आईएसजस्तो आपराधिक संगठनसँग आबद्धता रहेको भन्ने झूटा आरोप लगाउनु कतिसम्म न्यायसंगत छ ? सरकारले यो आरोपको छानबिन गरी अविलम्ब सत्यतथ्य सार्वजनिक गर्नुपर्छ,’ उनको भनाइ छ । शाहले आफू दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै निर्दोष नेपालीलाई विनाकारण यति ठूलो आरोप लगाउने र फसाउने षड्यन्त्र बुन्ने राजदूत र मतियारमाथि सरकारले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि गरे । राजदूतका कारण मलेसियामा आफ्नो व्यवसाय चौपट भएको भन्दै उनले तत्काल यथार्थबारे मलेसिया सरकारलाई समेत स्पष्ट पार्नुपर्ने बताए ।

कालिकोट घर भएका एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष शाहलाई विभिन्न अपराधमा संलग्न भनी गत १९ भदौमा पक्राउ गरी नेपाल डिपोर्ट गरिएको हो । उनीमाथिको अभियोग प्रमाणित नभएपछि प्रहरीले नै सार्वजनिक मुद्दा लगाएको र प्रशासनले सामान्य धरौटीमा रिहा गरेको हो । १४ वर्षदेखि मलेसियामा बस्दै आएका शाहलाई आईएसमा आबद्ध भएको राजदूत बस्नेतकै पत्रका आधारमा मलेसिया सरकारले पक्राउ गरेको थियो । ‘म आईएस कसरी भएँ ? आईएसजस्तो आपराधिक संगठनसँग मलाई कसरी जोडियो ? यो कुरा कहाँबाट आयो ?’ शाहले भने, ‘अब सरकारले नै प्रमाणित गरिदिनुपर्छ, म आईएसको सदस्य हो कि होइन ? मलाई न्याय चाहियो ?’ उनले आफूमाथि कारबाही वा निर्दाेषको प्रमाण दिने काममा ढिलाइ नगर्न सरकारसँग आग्रह गरे । ‘ममाथि जुन आरोप लगाइयो, प्रशासनले अनुसन्धान गरोस् । कि मलाई कारबाही होस् कि आईएसको मुद्दा उठाउने राजदूतलाई कारबाही होस्,’ उनले भने । शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर यस विषयमा जानकारी दिइसकेका छन् । गम्भीर अनुसन्धान गर्न आग्रह गरेका छन् ।
– राजधानीबाट