१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्थमन्त्री डा. खतिवडा बेलायतमा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७५, बुधबार १४:१५

लण्डन । अर्थमन्त्री डा युवराज खतिवडा संयुक्त अधिराज्य बेलायत आइपुगेका छन् । डा खतिवडा बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’ मा भाग लिन स्थानीय समयअनुसार बुधवार दिउँसो यहाँ आइपुगेका हुन् । अर्थ मन्त्रीको साथमा अर्थ मन्त्रालय र लगानी वोर्डको कार्यालयवाट एक एक जना प्रतिनिधि सहभागी भएका छन् ।

बेलायतस्थित नेपाली दूतवासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थलमा डा खतिवडाको स्वागतका लागि पुगेका थिए । डा खतिवडाको स्वागतमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदी भने अनुपस्थित रहे । सुवेदी बेलफास्टमा प्रजातन्त्र दिवस मनाउन गएकाले अनुपस्थित रहेको बताइएको छ ।

डा खतिवडाको स्वागतमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूल आचार्यसहित एनआरएन यूकेका पदाधिकारी र अन्य संघ संगठनका प्रतिनिधि पनि विमानस्थल पुगेका थिए ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै डा खतिवडाले आफू नेपालमा लगानीका लागि धेरै अपेक्षा बोकेर लण्डन आएको प्रतिक्रिया दिए ।

‘पहिले त यहाँ भएका नेपालीहरुको लगानी नेपाल भित्र्याउनु छ । नेपालमा हुन लागेको लगानी सम्मेलनका विषयमा बेलायती सरकारसँग दुई पक्षीय वार्ताहरु पनि हुँदैछ’, उनले भने । लगानी सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको पनि डा खतिवडाले जानकारी दिए ।

बुधबार यहाँ आइपुगेका खतिवडाले शुक्रबार लण्डनस्थित नेपाली दूतवासमा आयोजित विकास सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने नेपाली दूतावास लण्डनले जनाएको छ ।

दूतावासका प्रवक्ता आरणका अनुसार चार सेसनमा हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल वेलायत चेम्बर अफ कमर्स, वेलायतस्थित नेपाली तथा विदेशी लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

यसबाहेक खतिवडा एनआरएनए वेलायत र नेपाल–बेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् ।

भ्रमणवाट नेपाल र संयुक्त अधिराज्य वीचको पारस्परिक हित अभिवृद्धिमा सघाउ पुर्याउनुका अतिरिक्त नेपालमा आयोजित लगानी सम्मेलनमा संयुक्त अधिराज्यका सम्भाव्य लगानीकर्ताहरुलाई सहभागी गराउन समन्वय गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ। नेपालमा आउँदो चैत १५ र १६ मा ‘लगानी सम्मेलन’ हुँदैछ ।

यसैबीच मन्त्री खतिवडाको सम्मानमा गैरआवासीय नेपाली संघ युकेले वुधवार साँझ लण्डनस्थित ह्यारोमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

बेलायत भ्रमण सकेर खतिवडा २३ फेव्रोवरीमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।