काठमाडौँ — प्रवासमा बसेर पौरख गरिरहेका दोस्रो पुस्ता नेपालमा उद्यमशीलताका लागि तत्पर रहेको प्रवासी अधिकारीहरूले बताएका छन् ।
कान्तिपुर कन्क्लेभको सामेबार भएको ‘पौरखी प्रवासी र मूल देश’ सत्र छलफलमा गैरआवसीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य जीवा लामिछाने, अर्थशास्त्री विश्व पौडेल, साउथ एसिया युनिभर्सिटीकी प्राध्यापक मल्लिका शाक्य र ब्लगर लेक्स लिम्बुले प्रवासी नेपालीको योगदानबारे चर्चा गरेका हुन् ।
‘दोस्रो पुस्ता पहिलो पुस्ताको संघर्षबाट प्रभावित भएको हुन सक्छ,’ लामिछानेले भने, ‘यस्तो उद्यमशीलतामा रमाउने पुस्ता सयमा होइन, हजारौंमा छन् ।’ उनले प्रवासमा रहेका नेपालीसँग सरकारी तहबाट ठूलो अपेक्षा राखेको बताए । ‘एनआरएन अभियानको सुरुआती चरणमा हामीले पनि क्षमता बिर्सेर बढी प्रतिबद्धता जनायौं । त्यही भएर हेर्दा मूल देशबाट जति लगानी हुनुपथ्र्यो । त्यस्तो नदेखिएको हो,’ उनले भने, ‘पछिल्लो समय मूल देशमा व्यक्तिगत र सामूहिक रूपमा लगानी भित्रिरहेको छ ।
जस्तो सानिमा समूहले ३२ मेगावाट जलविद्युत् आयोजना बनाइसकेको छ । १ सय १६ मेगावटको आयोजना निर्माणाधीन छ । प्रवासी नेपालीको स्वदेशमा लगानी गर्ने यस्तो अभियान निरन्तरता पाउनेछ ।’
नेपालमा वातावरणको केही समस्यासमेत रहेको उनले उल्लेख गरे । ‘प्रवासमा रहेका नेपालीको विषयलाई कानुनी रूपमा सम्बोधन गरिएको छ । आयोजना बनाउँदा स्थानीय समुदायको भूमिकाले निरुत्साहित गरेको छ,’ लामिछानेले भने, ‘सरकारी कार्यालयमा जुत्ताको तलुवा फाट्ने गरी धाउनुपर्ने विषयभन्दा स्थानीय समुदायले देखाएको त्रास चिन्ताजनक छ ।’
प्रवासमा बसेर पौरख गरिरहेका नेपालीले सरकारी कानुनभन्दा स्थानीय समुदायको भूमिकाले लगानीकर्ताहरूमा निराशा सिर्जना गरेकोप्रति चिन्ता जनाएका छन् । सोही छलफलमा अर्थशास्त्री पौडेलले लगानीमा रहेका झन्झटबारे चर्चा गरे । विदेशीलाई नेपालमा भिसा पाउन निकै कठिन रहेको उनले बताए । ‘यहाँ मुख्य सवाल नाफा कसरी पठाउने भन्ने छ । एउटा लगानीकर्ताको भिसा लगाउन ३२ ठाउँबाट सिफारिस आएपछि मात्रै भिसा लाग्छ,’ उनले भने, ‘सबैले आफ्नो जीवनको ग्यारेन्टी भएपछि मात्रै लगानी गर्ने हो ।’
सुधारको अबस्था क्रमिक रूपमा अगाडि बढ्दै गएकाले आशासमेत उनले देखाए । ‘विदेशका सबै मान्छे यही राख्ने कुरा पनि ठीक होइन । जहाँ अवसर छ, त्यहाँ पौरख गर्ने हो,’ उनले भने, ‘विदेशी लगानीलाई आकर्षण गर्ने नीति हुनुपर्छ ।’ उक्त सत्रमा प्राध्यापक तथा ‘डेथ अफ एन इन्डस्ट्री’ पुस्तककी लेखिका शाक्यले देशमा नवसेर पनि ठोस योगदान गर्न सकिने बताइन् ।
‘मुलुकमा योगदान गर्नका लागि सशरीर फर्किनुपर्दैन,’ उनले भनिन्, ‘हामी जहाँ छौं । त्यो ठाउँबाटै योगदान दिन सक्छौं ।’
उनले आफ्नो क्षमतालाई फराकिलो बनाउन प्रवास जाने गरेको बताइन् । ‘धेरैलाई लाग्छ देश किन फर्किने ? फर्केर के गर्ने ?’ उनले भने, ‘मुलुकबाट लेखिटिने मान्छेहरूको कारणमा क्रमभंगता आउन जरुरी छ ।’
ब्लगर लिम्बुले प्रवासमा नेपाली सामाजिक संस्थाहरू निकै क्रियाशील भइरहेको बताए । ‘कहिलेकाहीं लाग्छ हामी त न यताको हुन सक्यौं, न उताको,’ उनले भने, ‘काठमाडौंका रैनाथेहरू त स्वदेश फर्किनका लागि सोच्छन् भने हामी त धरानतिरका भयौं ।’