८ बैशाख २०८१, शनिबार
Follow Us

आइएसका प्रमुख बग्दादीको खानामा विष !

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७३, मंगलवार ०६:२६

बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख कमाण्डर अबु अबर अल बग्दादी गम्भीर अस्वस्थ भएका छन् । विष मिसाइएको खाना खाँदा उनको अवस्था गम्भीर भएको इराकी अधिकारीहरुले जनाएका छन् ।

इराकको बेआजमा खाना खाएलगत्तै बग्दादीको स्वास्थ्य अवस्था खराब भएको इराकी समाचार एजेन्सीले जनाएको छ । उनीसँगै खाना खाएका आइएसका अन्य तीन कमाण्डर पनि अस्वस्थ भएका छन् । ती तीन कमाण्डरको परिचय भने खुलाइएको छैन ।

उनीहरुलाई गम्भीर अवस्थामा अज्ञातस्थलतर्फ लगिएको इराकी एक समाचारपत्रले जनाएको छ ।
अमेरिकी अधिकारीहरुले विष सेवनका कारण बग्दादी अस्वस्थ भएको भनिएको समाचारबारे आफूहरुको ध्यानाकर्षण भइरहेको जनाए पनि वास्तविकता पत्ता लगाउन बाँकी रहेको जनाएका छन् ।

आइएसले बग्दादीसहित चार कमाण्डरको खानामा विष मिसाउने व्यक्तिको पहिचानका लागि छानविन सुरु गरेको जनाइएको छ । यस क्रममा आफ्नै केही सदस्यलाई आइएसले नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ लाई फुटाएर ‘आइएस’ गठन गर्न बग्दादीको अहम् भूमिका रहेको थियो । अमेरिकाले अक्टोबर २०११ मा बग्दादीलाई आतंकवादी घोषणा गरेको हो ।