६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली साहित्य बारे के भन्छन् प्राध्यापक माइकल हट

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार ०८:३५

काठमाडौँ । एसओएएस युनिभर्सिटी अफ लण्डनका प्रा माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा हट राम्रो नेपाली बोल्नुहुन्छ । स्कूल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (एसओएएस) बाट ‘नेपाली भाषा र यसको साहित्य’मा विद्यावारिधि गर्नुभएका प्रा हट आधुनिक र समसामयिक नेपाली साहित्य, नेपाली डायस्पोरा, मिडिया, कला र साहित्य, भुटानी शरणार्थी आदि विषयमा रुचि राख्नाका साथै कलम चलाउनुहुन्छ ।

उहाँले ‘लाइफ अफ भूपी शेरचन, पोएट्री एण्ड पोलिटिक्स इन पोष्ट–राणा नेपाल’, ‘नेपाल इन नाइनटीज’ जस्ता कृति लेख्नाका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’, लीलबहादुर क्षत्रीको ‘बसाइँ’ उपन्यास आदि नेपालीमा अनुवाद गर्नुभएको छ ।

‘गोरखा भूकम्प’पछि उहाँ अहिले ‘पृथ्वीको हिंसात्मक शासनपछि प्राकृतिक प्रकोपको मूर्त अमूर्त विरासत’ शीर्षक परियोजनामा काम गरिरहनुभएको छ । यसमा उहाँसँगै योगेशराज मिश्र, जीवन बानियाँ (नेपाल(, मार्क लिच्टी (अमेरिका), जोन ह्वेलप्टन (बेलायत) र स्टेफ्यानी लोटोर (जर्मनी) संलग्न हुनुहुन्छ । तीन वर्षको यो परियोजना अर्को वर्ष सकिँदैछ ।

“यसमा भूकम्पले नेपाली संस्कृति, सम्पदा, पुनःनिर्माण, संरक्षण, समाज र राजनीतिक प्रक्रियामा पारेको असरबारे अध्ययन हुनेछ ”, उहाँले भन्नुभयो । भर्खरै नेपाल आउनुभएका उहाँ सो भूकम्प ७.८ रिक्टर स्केलको केन्द्रविन्दु गोरखाको ‘बारपाक’ पनि जाँदै हुनुहुन्छ ।

उहाँले भूकम्पसम्बन्धी सिङ्गो काव्य कृति र छ–सात वटा साहित्यिक पत्रिकाका भूकम्प विशेषाङ्क पनि सङ्कलन गरिरहनुभएको छ । भूकम्पसम्बन्धी करीब ३०० कविता पढिसक्नुभएका प्रा हटले ती कवितामा खासगरी मानिसका दुःख, ग्लानि, क्रोध, समानता, सङ्कल्प, आशाजस्ता विषयवस्तु पाइएको उहाँले जानकारी दिनुभयो ।

दश पन्ध्र वर्षका बीचमा नेपाली साहित्यका पाठक निकै बढेको र पत्रकारहरुले पनि साहित्य सिर्जना गर्न थालेको जस्ता कुरा परिवर्तनका मुख्य विषय हुनसक्ने उहाँको बुझाइ छ । नेपाली पाठकहरु संसारभर रहेको पनि उहाँको मान्यता छ । पहिलेभन्दा महिला, जनजाति र दलित समुदायबाट आएकाहरुले लेख्न थालेको उहाँ बताउनुहुन्छ । “लेखक र पाठक दुवैमा समावेशीकरण भएको छ”, उहाँ भन्नुहुन्छ ।

हाल नेपाली साहित्यको अनुृसन्धानमा व्यस्त प्रा हटको कर्णाली ब्ल्युज (बुद्धिसागर) तथा भूकम्पसम्बन्धी केही कविता प्रकाशनोन्मुख छ । पाठकको मुटु छुने क्षमता नेपाली लेखकमा भए पनि धेरैजसो नेपाली लेखकले नेपाल बाहिर चर्चा पाउन नसकेको उहाँ स्वीकार्नुहुन्छ ।

सन् १९९० मा मायालु, दयालु र कलात्मक जीवन बिताएको मध्यम वर्गले सामाजिक–राजनीतिक जटिलता भोगेको कथा बोकेको श्रद्धा घलेको ‘द वेवार्ड डटरः अ स्टोरी अफ काठमाडौँ’ प्रकाशक स्पिकिङ टाइगर, सन् २०१८० निकै राम्रो भएको उहाँको टिप्पणी थियो ।

अङ्गे्रजी भाषामा लेख्ने नेपाली लेखकको उत्कृष्ट कृतिको उदाहरण उहाँले यसरी दिनुभयो । “अनुवाद भएमा निकै कृति चर्चित हुने सम्भावना छ”, उहाँले भन्नुभयो । विश्वस्तरको कृति केलाई भन्ने प्रश्नमा उहाँले विश्वस्तरको भन्नुको अर्थ पनि खोज्नुपर्ने स्पष्ट गर्नुभयो ।