१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएलाई राष्ट्रिय परिचयपत्र दिए राष्ट्रियतामा आघात पुग्ने दाबी

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७५, बिहीबार १८:२३

लन्डन–गैरआवासीय नेपाली (एनआरएन) लाई राष्ट्रिय परिचयपत्र नदिन सुझाव आएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि काठमाडाैंमा भएकाे छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार आयोजना गरेको सो छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले एनआरएन नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी दिए ।

सांसद विजय सुब्बाले गैर आवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न सकिने बताउँदै उनीहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गर्दा चाहिँ राष्ट्रियतामा आघात पुग्ने दाबी गरे ।

सांसद पम्फा भुसालले निश्चित समय नेपाल बसेका विदेशीलाई स्थायी बसोबासलगायतका अन्य प्रकारले सुविधा दिन सकिने भए पनि परिचयपत्र नेपाली नागरिकलाई मात्र वितरण गर्नुपर्नेमा जोड दिइन् ।