६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायती रक्षा राज्यमन्त्री ल्याङकेष्टरले भने गोर्खाको समस्या चाँडै सम्वोधन हुन्छ

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १०:२५

काठमाडौं। बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर गोर्खा सैनिकले पुर्‍याएको योगदानलाई बेलायत सरकारले उच्च मूल्याङ्कनमा राखेको बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आफ्नै कार्यकक्षमा शुक्रबार शिष्टाचार भेट गर्दै संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उनकै कार्यकक्षमा भएको भेटमा बेलायती रक्षा राज्यमन्त्री ल्याङकेष्टरले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको स्पष्ट पारेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको उनले जानकारी दिएका छन् । भूपू गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधनका सिलसिलामा बेलायत सरकारले निकट भविष्यमा घोषणा गर्ने तयारी गरेको जानकारी रक्षा राज्यमन्त्री ल्याङकेष्टरले आफूलाई दिएको मन्त्री ज्ञवालीले बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आफ्नै कार्यकक्षमा शुक्रबार शिष्टाचारभेट गर्दै संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर ।
संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उनकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गरेका हुन् ।

नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार विमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री ज्ञवालीले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आफ्नै कार्यकक्षमा शुक्रबार शिष्टाचारभेट गर्दै संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर ।
नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, आपत्कालीन सहयोगलगायत बेलायतबाट प्राप्त सहयोग, नेपालको विकासको विश्वासिलो साझेदार तथा बहुआयामिक सम्बन्धयुक्त उक्त देशप्रतिको नेपाल र नेपालीको धारणा जस्ता विषयमा आफूहरूले छलफल गरेको मन्त्री ज्ञवालीले जानकारी दिएका ।

ल्याङकेष्टर यसअघि पनि नेपाल आएका थिए । उक्त समयमा पनि उनले गोर्खा सैनिकका सबैखाले समस्या सम्बोधनका लागि आफूले व्यक्तिगत रुपमा समेत पहल गर्ने र गोर्खाहरुको मूल्याङ्कन बेलायत सरकारले उच्च रुपमा गर्ने पनि बताएका थिए ।