६ चैत्र २०८०, मंगलवार
Follow Us

गोर्खा सैनिकका माग सम्वोधन गर्न वेलायती मन्त्रीलाई प्रचण्डको निर्देशन

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १०:४३

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ ।

आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका बारेमा छलफल भएको थियो ।

त्यसैगरी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको अध्यक्ष दाहालको सचिवालले जनाएको छ । आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान सरकार लागिपरेको बताउनुभयो ।

चार दिवसीय नेपाल भ्रमणमा रहनुभएका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणका रुपमा रहेको धारणा राख्नुभएको थियो । भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो ।