१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पीडित विद्यार्थीको पूरै पैसा फिर्ता दिइयोस् : एनआरएनए अष्ट्रेलिया

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार ०६:०५

सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले हालै दर्ता खारेजी गरिएको एआईबीटी कलेजको गलत रवैयाका कारण पीडित बनेका नेपाली विद्यार्थीहरुको सम्पूर्ण रकम फिर्ता गर्न माग गरेको छ । एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले एक विज्ञप्ति जारी गर्दै एआईबीटी सिड्नी, ब्रिसबेन र ईटीईए भिक्टोरियामा नर्सिंङ पढ्नका लागि आएका विद्यार्थी विचल्लीमा परेको खबरलाई आफुहरुले चासोपूर्वक लिएको जनाएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ ‘ नर्सिंङ पढाउनका लागि चाहिने न्यूनतम मापदण्ड समेत पूरा नगरी विद्यार्थीलाई भर्ना मात्रै गर्ने र अलपत्र पार्ने किसिमको गतिविधिबाट पीडित बनेकाहरुलाई सहयोग गर्न एनआरएनए तत्पर छ ।’

विज्ञप्तिमा एनआरएनले अष्ट्रेलिया र नेपालको सरकारी निकायहरुले यो प्रकरणको पूर्णत छानविन गरिनुपर्ने माग गरेको छ । त्यस्तै अष्ट्रेलियाका सम्बन्धित निकायहरुले विद्यार्थीहरुका लागि उचित निकास दिन पनि माग गरिएको छ।

विज्ञप्तिमा यो प्रकरणमा संलग्न एजुकेशन कन्सल्टेन्सीहरुलाई प्रभावित विद्यार्थीहरुसम्म पुग्न एनआरएनएले आह्वान गरेको छ । यस्तै एनआरएनले कलेजहरुलाई पूर्णत सम्बन्धनप्राप्त कोर्षको पढाई पूरा गरेको सर्टि्फिकेट उपलब्ध गराउन, त्यसो गर्न नसकेको अवस्थामा पूरै शुल्क फिर्ता गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।