१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डन दूतावासमा लगानी सम्मेलन, ब्रिटिश लगानीकर्ता उत्साहित

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७५, शनिबार १९:४८

लण्डन । अर्थमन्त्री डा युवराज खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन्।

शुक्रबार बेलुका लण्डनस्थित नेपाली दूतावासमा “नेपालमा लगानीका संभावना” विषयक कार्यक्रमलाई संबोधन गर्दै मन्त्री खतिवडाले त्यस्तो आह्वान गरेका हुन्।

आउँदो मार्च २९ र ३० तारिखमा नेपाल सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गरेको जनाउँदै मन्त्री खतिवडाले ब्रिटिश लगानीकर्ताहरुलाई नेपाल आउन आमन्त्रण गरे। उनले हाल नेपालमा स्थिर सरकार रहेको र लगानीकालागि सजीलो वातावरण बनाउन सरकारले नयाँ कानुनहरु ल्याउनुकासाथै कार्यान्वयन प्रकृयालाई चुस्तदूरुस्त पार्न लागेको पनि जानकारी दिए।

अर्थमन्त्री डा। खतिवडाले यो वर्ष नेपालमा आर्थिक वृ्द्धिदर सात प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको बताउँदै लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले सरकारले एकद्वार प्रणाली छिटै कार्यान्वयनमा ल्याउन लागेको पनि जनाए।

आफ्नो लण्डन बसाइका क्रममा ब्रिटिश अधिकारीहरुसंग छलफल भएको पनि उनले जानकारी दिए।

सो अवसरमा बोल्दै हाउस अफ लर्डसका सदस्य लर्ड शेखले भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानीको राम्रो संभावन रहेको बताए। आफु नेपालको मित्र रहेको बताउँदै उनले नेपालको विकासमा सघाउन जस्तो सहयोग गर्न पनि आफु तयार रहेको बताए।

बेलायतकालागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउँदै गैरआवासीय नेपालीहरु लगायत ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले दुई देशबीचको संबन्ध २०० वर्ष पुरानो रहेपनि बेलायतबाट अपेक्षा गरे अनुरुपको लगानी नेपाल भित्रन नसकेको गुनासो पनि गरे।

सो अवसरमा आयोजित छलफलमा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संसारका ८० मुलुकहरुमा संघको शाखा रहेको र संसारभरि फैलिएका नेपालीहरुले व्यक्तिगत तथा सामूहिकरुपमा नेपालमा लगानी गरिरहेको बताए। उनले लगानी गर्ने वातावरण सहज बनाउन अर्थमन्त्रीलाई आग्रह पनि गरे। त्यस्तै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन कँडेलले नेपाल लगानीका लागि खुल्ला रहेको र मुनाफाका अवसरहरु निकै रहेको बताए। एकजना ब्रिटिश लगानीकर्ता टिम गोचरले आफ्नो कंपनीले नेपालमा ९ वटा परियोजनाहरु संचालन गरिरहेको र झण्डै चारहजार मानिसलाई रोजगारी दिएको बताए।

वन टु वाच कंपनीका अर्का प्रबन्ध निर्देशक विलेम ग्रिमिन्कले नेपालले साना तथा मझौला उद्यमीहरुलाई सघाउन विशेष जोड दिनुपर्ने बताएका थिए। उक्त कंपनीको संयोजनमा तथा नेपालबाट आएका १० जना युवा उद्यमीहरुले आआफ्नो कंपनीको बारेमा बताएका थिए। उनीहरुले आफ्ना कम्पनीहरुमा लगानी गर्न आग्रह पनि गरेका थिए।

कार्यक्रममा डिएफआइडिको विकासकालागि व्यापार विभागका प्रमुख एण्ड्रयु म्याककब्री, नेपालस्थित डिएफआइडिका प्रमुख रुरिक मार्सडेन, सिडिसी ग्रुपका निर्देशक पियरे भ्यान हनिल्याण्ड लगायतका वक्ताहरुले पनि बोलेका थिए।

कार्यक्रमको सन्चालन नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए।