१५ बैशाख २०८१, शनिबार
Follow Us

सिडिओको गाडी दुर्घटना गराउने चालक करोडौंका मालिक

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७५, आईतवार ०२:३७

बारा – प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौंको जग्गा रहेको खुल्न आएको छ। पुख्र्यौली जग्गाबाट ५ कट्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन्।

सविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन्। उनकी श्रीमतीको नाममा कलैया, उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौं मूल्य पर्ने घडेरी र खेती गर्ने जग्गा फेला परेको छ। साबिक कलैया ६ हाल कलैया उपमहानगरालिका १ मोतीबाघमा कित्ता नं. १२७८ को ४ धुर, कित्ता नं. १२८२ को १ धुर घडेरी फेला परेको छ भने कलैया बजार क्षेत्रबहिर रहेका साबिक ब्रह्मपुरी २ हाल कलैया उपमहानगपालिका १७ ब्रह्मपुरीमा कित्ता नं. १३१ को ३ कट्ठा १० धुर, कित्ता नं. ४८३ को २ कट्ठा , साविक वडा नम्बर ३ मा कित्ता नं. १२२ को ७ कट्ठा १५ धुर, कित्ता नं. १३४ को १२ कट्ठा १० धुर, कित्ता नं. २६४ को ३ कट्ठा, कित्ता नं. १८९ को ५ कट्ठा ५ धुर जग्गा उनकी श्रीमतीका नाममा रहेको छ। त्यसैगरी सविक उत्तरझिटकैया १ हाल कलैया उपमहानगरपालिका १६ झिटकैयामा ८८ कित्ताको १४ कट्ठा १० धुर जग्गा रहेको फेला परेको छ। नागरिक दैनिकमा याे खबर छ ।