२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालद्वारा सन् १९५० को सन्धि संशोधनको प्रस्ताव

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७३, बुधबार ०७:३०

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी नेपाल र भारत प्रबुद्ध समूहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । हिजोबाट जारी बैठकमा नेपालले सन्धी संशोधनको बिषय औपचारिक रुपमा प्रस्ताव गरेको हो । सन्धीका कतिपय बुँदा अब्यबहारिक रहेको भन्दै नेपालले संशोधनका लागि छलफल अघि बढाएको हो ।
नेपाली पक्षको मागअनुसार सन् १९५० को सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेन्डा भएको छ । नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनको सिफारिसका लागि प्रबुद्ध समूह गठन गरिएको हो ।
समूहको सिफारिसका आधारमा दुई मुलुकबीच वार्ता हुनेछ । सन् १९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत–साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्नेलगायत विषयमा नेपालले संशोधन चाहेको छ । दुवै देशका नागरिकलाई सम्पत्ति किनबेचमा बराबर हैसियतमा राख्ने प्रावधान पनि नेपालले हटाउन खोजेको छ ।
भियनालगायत अन्य सन्धि–सम्झौता भएपछि सन् १९५० को सन्धिका केही प्रावधान प्रभावकारी नभएकाले त्यसलाई हटाउनुपर्ने प्रस्ताव नेपाली पक्षले गरेको हो । यसैगरी बैठकमा व्यापार तथा पारवहन सन्धीको बिषयले पनि प्राथमिकता पाएको छ ।