८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस नेताहरुलाई नयाँ शक्तिका सांसदले यसरी जिल्याए

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार १६:२७

रसुवा–नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वा वाङ्दी तामाङसहित नेता कार्यकर्ता सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गर्नेमा नयाँ शक्तिका ४ केन्द्रीय सदस्य समेत रहेको दाबी गरिएको छ ।

नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले कार्यक्रममा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रेम तामाङ र आमा छोदिङमा गाउँपालिका प्रमुख बुचुङ तामाङ भने काँग्रेस प्रवेश नगरेको बताए ।

उनीहरु नयाँ शक्तिको तर्फबाट जनप्रतिनिधि रहेको र काँग्रेस प्रवेश गर्दा कानुनी रुपमा पद धरापमा पर्ने भएकाले पार्टी प्रवेश गर्ने तय भएको भएपनि अन्तिम समयमा प्रवेश नगरेको उनको भनाई थियो ।

तामाङलाई नै पार्टीमा प्रवेश गराउने भनेर कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसांक कोइराला, सहमहामन्त्री डा प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन कुमार थापालगायतका नेताहरू सोमबार रसुवा पुगेका थिए ।

यसैबीच नयाँ शक्ति पार्टी रसुवाले जिल्ला संयोजकको हैसियतमा सोमबार काँग्रेस प्रवेश गरेका फुर्वा वाङ्दी तामाङ पार्टी संयोजक नभएको दाबी गरेको छ ।

जिल्ला संयोजक दावा तामाङ रहेको दाबी गर्दै प्रकाशित गरिएको विज्ञप्तिमा फुर्पावाङ्दी तामाङ नयाँ शक्ती पार्टीको संघीय परिषद् सदस्य मात्र भएको उल्लेख गरिएको छ ।

‘नयाँ शक्ति पार्टी रसुवाका आधिकारिक पार्टी संयोजक लगायत जिल्ला कमिटी यथावत रहँदारहँदै नयाँ शक्ति पर्टिका केही व्यक्ति काँग्रेस प्रवेश गर्दैमा आधिकारिक पार्टीको धारणा नबुझी झुटा प्रचार गर्न र आम जनमानसमा भ्रम छर्ने हिसाबले काँग्रेसले बहुदलीय प्रजातन्त्रको खिल्ली उडाउने कार्य गरेकोमा आइन्दा यस्तो गतिविधि नगर्नको लागि यसै मार्फत सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।