१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गोर्खा प्यालेसले च्यारिटीमा उठायो ४ हजार पाउण्ड

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार १९:२९

लन्डन । बेलायतको फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेण्टले आफ्नो वार्षिकोत्सवको अवसरमा गरेको च्यारिटी कार्यक्रमबाट स्थानीय २ च्यारिटी संस्थालाई ४ हजार पाउण्डको सहयोग प्रदान गरेको छ ।

एनआरएन यूकेका पूर्व अध्यक्ष तथा समाजसेवी सुर्य गुरुङ संचालक रहेको गोर्खा प्यालेसले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा प्यारिटी फर डिसाबिलिटी र स्टेसी एण्ड लुसी फाउण्डेसन नामका दुवै च्यारिटीलाई २ हजार १० पाउण्डको दरले सहयोग दिएको हो ।

रेस्टुरेण्टको बीसौं वार्षिकोत्सवको अवसर पारेर गतसाता रेस्टुरेण्टमै एक च्यारिटी साँझ आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी रेस्टुरेण्टका नियमित ग्राहकहरुको सहयोगका साथै राफल, बिङ्गो र विभिन्न सामग्रीको अक्सन लगायतबाट ४ हजार २० पाउण्ड संकलन गरिएको थियो । कोष संकलनार्थ अक्सनका लागि कैयौं सामग्री रेस्टुरेन्टकै ग्राहकहरुले उपलब्ध गराएका थिए ।

रश्मोर बरोका मेयर स्टिभ मास्टरसनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व सांसद जेराल्ड होवार्थ, काउन्सिल लिडर डेभिड क्लिफोर्ड , लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरद राज आरन लगायतका विशेष अतिथि पनि उपस्थित थिए ।

कार्यक्रमको संचालन रेस्टुरेण्ट संचालक गुरुङकी १२ वर्षीया छोरी सिल्भिया गुरुङले गरेकी थिइन् । च्यारिटी साँझबाट संकलित रकम आइतबार दुई स्थानीय च्यारिटीलाई सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग प्राप्त गर्नेहरुमध्ये प्यारिटी फर डिसाबिलिटी अपाङ्गता भएकाहरुलाई सहयोग गर्दै आएको च्यारिटी हो भने स्टेसी एण्ड लुसी फाउण्डेसन केहि वर्ष अघि स्थानीय क्वीन्स अभिन्यू रोडमा सडक दुर्घटनामा ज्यान गुमाएका दुई किशोरी स्टेसी र लुसीको स्मृतिमा संचालित च्यारिटी हो ।

स्थानीय क्लबमा आवद्ध रहेर अन्तर्राष्ट्रीय स्तरको लंग रनमा समेत सहभागी बन्दै आएका दुई किशोरी धावकहरुको निधनपछि उनीहरुका आमाबाबुले फाउण्डेसन स्थापना गरेका हुन् ।

सन् १९९९ मा स्थापित गोर्खा प्यालेस थुप्रै पटक अवार्ड जित्न सफल फार्नबरो क्षेत्रको लोकप्रिय रेष्टुरेन्ट हो । गोर्खा प्यालेसले विगत १५ वर्षदेखि हरेक वार्ष आफ्नो वार्षिकोत्सवमा च्यारिटी गरी नेपाल तथा बेलायतमा विभिन्न सहयोग गर्दै आएको छ ।

तस्विर : मिलन तमु