६ बैशाख २०८१, बिहीबार
Follow Us

कमल थापाको प्रश्न : हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ?

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७५, सोमबार १९:३५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।

“यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ?” –थापाले प्रश्न गरे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए ।

थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकत्ता रहेको औँल्याएका छन् । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ । उनले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे ।

२२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।

राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पनि थापाले पुष्टि गरेका छन् ।

पार्टीले १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने पनि जनाए । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी संघीयता कार्यान्वय र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए ।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किमि दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने छ ।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दा बढि सभा हुने र सभालाई अध्यक्ष थापाले सम्बोधन गर्नेछन् ।

२२ बुँदे मागपत्रलाई सरकारले वेवास्ता गरेमा चैत्र एक गतेदेखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गरिने थापाले जानकारी दिए । उक्त विरोलाई काठमाण्डौसम्म विस्तार गर्ने थापाको भनाई छ ।

थापाले केपी ओली नेतृत्वको सरकारले एक वर्षमा जनतालाई निराशा मात्रै दिएको आरोप पनि लगाए ।

पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे थापाले गम्भीर प्रश्न उठाएका छन् । “पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन ?

किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो ?” थापाले प्रश्न गरे । २ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुन सक्ने थापाको भनाई थियो ।