६ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी कार्यालयमै विद्यार्थीबीच कुटाकुट प्रकरण, किन मौन छ काँग्रेस ?

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७५, मंगलवार ०१:५२

काठमाडौं–कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे । झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुप–यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् ।

झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो ।

पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।