७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसमा गुट बलियो बनाउने होड

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७५, मंगलवार ०२:२४

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए। नागरिक दैनिकमा खबर छ ।

पार्टी नेतृत्व सम्हालेको तीन वर्ष बित्न लाग्दा पनि केन्द्रीय विभागसहितका विभिन्न समिति गठन गर्न नसकेको आरोप खेप्दै आएका सभापति देउवा बाँकी समय बहुमतको आधारमा पार्टी चलाउने तयारीमा देखिएका छन्। संगठन सुदृढ गर्न नसकेको आरोप पार्टीभित्रकै असन्तुष्ट पक्षबाट खेपिरहेका देउवा विधानको बलमा बहुमतबाट सबै विभाग र समिति गठन गरी अघि बढ्ने तयारीमा पुगेको उनी निकटका नेताहरु बताउँछन्। प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन गर्ने अधिकार सभापति देउवालाई केन्द्रीय समितिले दिइसकेको छ। पार्टीका विभाग र अन्य समिति गठनमा पनि बहुमतकै आधारमा निर्णय लिँदै जाने सभापति देउवाको तयारी छ। देउवाले सहमतिका लागि असन्तुष्ट पक्षलाई पर्खंदा निर्णय लिन नसकेको आरोप खेप्दै आउनुपरेको बताउँदै उनी निकट केन्द्रीय सदस्य एनपी साउदले भने, ‘बाँकी कार्यकाल पनि सहमतिको प्रयास जारी राख्दै विधानका आधारमा काम गर्दै जाने भन्ने हो।’