१५ चैत्र २०८०, बिहीबार
Follow Us

ब्राजिलका स्टार नेयमार बेड रेस्टमा

sarusaru
१४ फाल्गुन २०७५, मंगलवार ०८:०७

ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार अहिले चोटमा कारण मैदानमा देखिएका छैनन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि घरमै आराम गरिरहेका छन् ।

चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन् । मैदान बाहिर रहेपनि नेमारको विषयमा केहीन केही समाचार आई रहेको छ । फुर्सदमा रहेका नेमारलाई मिडियाले पछ्याउनु पनि स्वभाविक हो । नेमारले हालै मात्र ‘स्पोर्टे स्पेक्टाकुलर’ सँगको विशेष अन्तर्वार्तामा बार्सिलोना र कप्तान लियोनल मेस्सीको बारेमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले आफु बार्सिलोना छँदा मेस्सी सँधै अभिभावक बनेको पनि बताए ।

‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन । मलाई जतिबेला साथ र सहयोग चाहिएको थियो । जुन सहयोग मैले विश्वकै उत्कृष्ट खेलाडी मेस्सीबाट पाएँ । म पहिलो पटक बार्सिलोना पुग्दा पहिलो म्यासेज मलाई मेस्सीले नै गरेका थिए । मेस्सीको अरुलाई सहयोग र सहानुभुती दिने क्षमता बेजोडको छ,’ नेमारले भने ।

नेमारले आफ्नो करियरको सुन्दर समय बार्सिलोनामा विताएकोले क्लब र पूर्वसहकर्मीलाई सँधै मिस गरेको पनि बताए । नेमार बार्सिलोनामा छँदा उनी र मेस्सीबीच दाजु भाईको जस्तै घनिष्ट सम्बन्ध थियो । नेमार मेस्सीलाई दाई र मेस्सी नेमारलाइ भाई भनेरै सम्बोधन गर्थे ।

सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा रहेका नेमार १८ महिनाअघि बार्सिलोना छाडेर किर्तिमानी दुई सय २२ मिलियन युरोमा पीएसजी गएका थिए । पीएसजीमा उनी त्यति रम्न नसकेको खबर बारम्बार बाहिर आएको थियो ।

यही क्रममा पत्रकारले केही समयअघि मेस्सीले ‘नेमार बार्सिलोना फर्किएको हेर्न चाहेको’ भनेर बोलेको विषयमा पनि नेमारलाई सोधेका थिए । तर, नेमारले त्यो कठिन भएको बताएका छन् । चोटका कारण निराश देखिएका नेमारले आफुले केही दिन रोएरै बिताएको पनि बताए ।

‘जब म चोटग्रस्त भएँ । दुई दिन घरमा एक्लै रोएर बिताएँ । अहिले म साँच्चै निरास छु । विस्तारै आफुलाई सम्हाल्ने कोशिष गरिरहेको छु, उनले भने– ‘निको हुन कति समय लाग्छ थाहा छैन । तर, म चाँडोभन्दा चाँडो ठीक भएर मैदान फर्किन आतुर छु ।’