१३ बैशाख २०८१, बिहीबार
Follow Us

रेलमार्गका लागि दुई मार्ग प्रस्तावित

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७५, बुधबार ०२:०४

काठमाडौँ– प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनपछि दुई वटा मार्ग प्रस्ताव गरिएको छ । भारतको कोंकर्ण रेल्वे कर्पोरेशनले यस्तो प्रस्ताव गरेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार एउटा मार्ग छोटो र अर्को मार्ग लामो छ । छोटोको दुरी १४० किलोमिटर र लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ ।

उनले भने, ‘‘यी दुबै ‘एलाइनमेन्ट’ माथि छलफल भइरहेको छ । नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव त्यो कम्पनीलाई पठाइने छ ।”
प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माण चुनौतीपूर्ण छ । उनले छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने बताए ।
त्यसमा सुरुङ् पनि आवश्यक हुन सक्छ । छोटो दुरीमा पुल धेरै संख्यामा निर्माण गर्नुपर्ने हुन्छ । “त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुन सक्ने देखिएको छ” महानिर्देशक मिश्रले भने ।
प्रस्तावित रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन यसअघि भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुबै देशका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।