४ बैशाख २०८१, मंगलवार
Follow Us

‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०३:००

काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ।

अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको छ । सो कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि नै अरु देशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली र विदेशी नागरिक दुवैलाई नेपाली ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु भएको कार्यालय प्रमुख चेतप्रसाद उप्रेतीले बताए।

नेपालीकरणका लागि अघिल्ला वर्षहरुमा सेवाग्राहीले नक्कली कागजात देखाउँदा कार्यालयले यस वर्ष कडाइ गरेर थोरै सङ्ख्यामा मात्रै नेपालीकरण गरिएको हो।

नेपालीकरणका लागि आएका नेपालीको विदेश बसेको प्रमाण र दूतावासको सिफारिसको आधारमा चालक अनुमतिपत्र नेपालीकरण भइरहेको बताइएको छ। उनले भने, “विगतमा कमजोर कागजात भएकालाई पनि स्मार्ट चालक अनुमतिपत्र दिएकाले अहिले कडाइ गरिएको छ।” कार्यालयले कुटनीतिक नियोगका प्रतिनिधिको भने ‘स्मार्ट’ चालक अनुमतिपत्र र दूतावासको सिफारिसका आधारमा ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण भइरहेको बताएको छ।

यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गइसकेकाले यससम्बन्धी व्यवस्था निर्देशिकामा गर्नुपर्ने औँल्याइएको छ। प्रमुख उप्रेतीले भने, “निर्देशिका हुँदा हामी त्यसैका आधारमा नेपालीकरण गर्ने वा नगर्ने निर्णय गर्नेछौँ ।” नेपालमा सबैभन्दा पहिले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण र नेपालीकरण शुरु भएको थियो।
डिसी नेपाल