२७ बैशाख २०८१, बिहीबार
Follow Us

बिहीबार जर्मनीको यात्रामा थिए मन्त्री रविन्द्र अधिकारी !

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७५, बुधबार १२:०३

लण्डन । ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी भोलि बिहीबार साँझा युरोप जाँदै थिए।

त्यहाँ उनी पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। बिहीबार बिहानका लागि उनको समय पहिलै निश्चित थियो। त्यो समय उनले पशुपति क्षेत्र विकास बोर्डको बैठकका लागि छुट्याएका थिए। संस्कृति मन्त्रालयको समेत जिम्मेवारीमा रहेका उनी पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत थिए। बिहीबारको व्यस्त तालिका र जर्मनी यात्रा नजिकिएका कारण मन्त्रालयको योजनामा रहेको तेह्रथुम अठराई चुहानडाँडास्थित सम्भावित विमानस्थलको अवलोकन बुधबारै गर्नुपर्ने दवाब उनीमाथि थियो।

त्यही भएर उनले बुधबार बिहानका लागि तेह्रथुम जान समय दिए। तेह्रथुम जाने टोलीमा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, तेह्रथुमका सांसद विजय सुब्बा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया यात्रामा रहने निश्चित भयो।

तर एयर डाइनेस्टीको हेलिकप्टर एएस ३५० मा ६ जनाभन्दा बढी यात्रु अँट्दैनथे। मन्त्रीको टोलीबाट एक जना ओर्लिनु पर्नेभयो। हेलिकोप्टरमा सिट नपुगेपछि सांसद सुब्बा काठमाडौंमै रोकिए। मन्त्री अधिकारीले नेतृत्व गरेको टोली बिहान ८ः४० बजे एयर डाइनेस्टीको कल साइन अल्फा माइक इन्डिया ९एएमआई० हेलिकोप्टरबाट तेह्रथुमतर्फ उड्यो।

तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंका अनुसार टोलीले बिहान ११ बजेभन्दा अगाडि नै अठराई चुहानडाँडा पुगेर सम्भावित विमानस्थलको अवलोकन गरेको थियो। ‘उहाँहरुले करिब ११ बजेतिरै चुहानडाँडाको सम्भावित विमानस्थलको अध्ययन भ्रमण सकेर फर्किनुभएको हो। त्यसपछि उहाँहरु ताप्लेजुङतर्फ लाग्नुभयो। फर्किने क्रममा दुर्घटना भएको हो।’