१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारत–पाकिस्तान तनाव चुलिँदो

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार ०२:१६

काठमाडौं । भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमलापछि दुई देशबीच तनाव चुलिएको छ । भारतीय लडाकु विमानले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको तालिम केन्द्र भन्दै आक्रमण गरेपछि मंगलबार दिनभर रणनीतिक छलफलमा रहेको पाकिस्तानले बुधबार भारतीय क्षेत्रमा प्रवेश गरी जवाफी कारबाही गरेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।
भारत प्रशासित काश्मीरको पुँछ र राजौरीमा पाकिस्तानी लडाकु विमानले बम खसाएको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् । यद्यपि, पाकिस्तानले खसाएका बमबाट कुनै मानवीय क्षति नभएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी लडाकु विमानले भारत प्रशासित काश्मीरमा आक्रमण गरेपछि त्यसको जवाफी कारबाहीमा एक पाकिस्तानी लडाकु विमान खसालेको भारतको दाबी छ । तर, यसको स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन ।
एक अर्को देशमा हमलाका लागि लडाकु विमान प्रयोग भएपछि दुवै देशमा नियन्त्रण रेखा र काश्मीर नजिक पर्ने विमानस्थलहरु सर्वसाधारणका लागि बन्द गरिएको छ । काश्मीरमा रहेका तीनवटै विमान बन्द गरिएको छ भने पाकिस्तानले पनि आफ्नो देशका विमानस्थल सर्वसाधारणका लागि बन्द गरेको छ । दिनभर बन्द रहेका विमानस्थल बुधबार साँझबाट भने पाकिस्तानले कराँचीसहित देशका केही विमानस्थललाई आंशिक रूपमा खुला गरेको छ ।
पाकिस्तानी सेनाले दुई भारतीय लडाकु विमान खसालिदिएको छ । पाकिस्तानको आक्रमणबाट क्षतिग्रस्त बनेका भारतीय लडाकु विमानका एक चालकको मृत्यु भएको छ भने अर्का एक जनालाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको पुष्टि भएको छ । पाकिस्तानले नियन्त्रणमा लिएका ती भारतीय लडाकु विमानका चालकको तस्बिर र भिडियोसमेत बाहिर आएको छ ।