६ चैत्र २०८०, मंगलवार
Follow Us

अब देशले मुहार फेर्छ : डा. उपेन्द्र महतो

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार ००:२९

काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् प्रमुख सरंक्षक डा. उपेन्द्र महतोले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतोले यस्तो बताएका हुन् । उनले भने, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सफल प्रधानमन्त्री हो। उहाँलाई हामीले असफल भन्यौं भने हामी पनि असफल नै हो नि ।”

महतोले नेपाल स्वर्गको देश भएकोले अबको दश वर्षभित्र नै समृद्ध हुनेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने, ऋषिजी तपाईले २० वर्ष भन्नुभयो, यो त धेरै लामो समय हो, मलाई लाग्छ हाम्रो देश दश वर्षमै समृद्ध हुन्छ, नेपालीहरु खुशी हुन्छन् ।” यद्धपी उनले मुलुकलाई समृद्ध बनाउन राजनीतिक नेतृत्वले मात्रै गर्न नसक्ने ठोकुवा गरे । उनले थपे,”नेतृत्वको आशमा मात्रै हामी नेपाली जनताहरु बस्ने हो भनेदेखि दश वर्र्ष होईन, सय वर्षमा पनि देश समृद्ध बन्दैन् ।” वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग तपाईको विश्वास र भरोसा छ भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, हो, उहाँसँग मेरो पूर्ण भरोसा छ । उहाँले देशलाई विकसित बनाउन सक्नुहुन्छ । रुपान्तरण गर्न सक्नुहुन्छ । सक्नुहुन्छ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार पनि रोक्न सक्ने उनको दाबी छ । तर, यसको लागि नेपाली जनताले साथ दिनुपर्ने महतोको भनाई छ । उसो भए यो एक वर्षमा प्रधानमन्त्री ओलीले जनताको मन जित्नुभएको छ त ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा महतोले यस्तो जवाफ फर्काए,”मन नजितेको भए त उहाँ कसरी प्रधानमन्त्री बन्नुभयो ? प्रधानमन्त्री भनेको देशको अनुहार हो । उहाँ हामी सबैको गार्जियन हो । यदि उहाँ राम्रो हुनुहुन्न भने हामी पनि राम्रो छैनौं । हामी नेपालीहरुले के बुझ्नुपर्छ भने नेताहरुलाई केही भन्नुभन्दा अगाडि आफूलाई हेर्नुपर्छ । जब मैले आफूलाई हेर्छु, अनि मैले आफ्नो नेतालाई हेर्छु ।”

अहिलेको अवस्थामा केपी ओली सफल प्रधानमन्त्री हो त ? भनेर सोधिएको अर्को प्रश्नमा महतोले थपे,”यदि म आफूलाई सफल व्यक्ति ठान्दछु भने उहाँ पनि सफल प्रधानमन्त्री हो । यदि म सफल नागरिक होईन भने उहाँ पनि सफल प्रधानमन्त्री होईन ।”