११ बैशाख २०८१, मंगलवार
Follow Us

११ वर्षसम्म बाख्रा फार्ममा बन्धक, ११ वर्षपछि रुँदै घर फर्किए

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार ०१:५३

काठमाडौँ – अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो । सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’

उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरू बाहिर आइरहेका छन् । खै हाम्रा मान्छेनिस्किएका छैनन् ।’

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थियो । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए । त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भलवाडी, रूपन्देहीबाट रातारात आइपुगेकी थिइन् ।

एक घण्टा कुर्दा पनि सत्यनारायण बाहिर निस्किएनन् । खबर साँचो थियो कि झूटो  ? उनमा बेचैनी बढदै थियो । आए–नआएबारे बुझ्न प्रहरीको सहयोग लिइन् । दुबईबाट आउने विमानमा रहेका यात्रुको सूचीमा सत्यनारायणको नाम देखेपछि ढुक्क भइन् ।
साढे चार बजेतिर आगमन कक्षबाट मैलो लुगा लगाएका सत्यनारायण निस्किए । ताराले परैबाट चिनिहालिन् । घरबाट बिदाइ गर्ने बेलाजस्तो शरीर थिएन । कपाल आधा फुलिसकेछ । अनुहार ख्याउटे भएछ । ११ वर्षपछि परिवारलाई भेटदा दुवैका आँखा रसाए ।

सत्यनारायणले आफूलाई सम्हाल्नै सकेनन् । निकै बेरसम्म रोइरहे । कान्तिपुर दैनिकमा होम कार्कीले विस्तृतमा खबर लेखेका छन् ।