१३ बैशाख २०८१, बिहीबार
Follow Us

हेलिकप्टर दुर्घटनाका मृतकप्रति टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण

sarusaru
१७ फाल्गुन २०७५, शुक्रबार ०५:३८

काठमाडौँ–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।

दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।