१३ बैशाख २०८१, बिहीबार
Follow Us

जहाँ कुकुरले चोर्छ जुत्ताचप्पल

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार ०१:४६

दोलखा – चोरीका घटना पनि थरीथरीका हुन्छन् । मानिसले गर्ने चोरीबाट विगत लामो समयदेखि हैरानी खेप्दै आएको दोलखा प्रहरीलाई अर्को अनौठो प्रकारको चोरीको घटनाले थप हैरान बनाएको छ ।

अझ चोरीको सामान प्रहरी कार्यालय आसपास नै राखेकाले प्रहरी थप आश्चर्यमा परेको छ । करिब १० महिनाअघि प्रहरी नायब उपरीक्षक वासुदेव पाठक दोलखामा प्रहरी प्रमुख भएर आउँदा उनको सामु चोरीको घटना प्रमुख चुनौतीका रुपमा रहेको थियो ।

उनले त्यति बेला हरेक कार्यक्रममा चोरी जसरी पनि नियन्त्रण गरेर छाड्ने प्रतिबद्धता जनाउने गरेका थिए र त्यो वाचा पूरा गरे पनि । त्यति बेला चोरीमा संलग्न अधिकांश बालक थिए र तिनीहरुलाई पक्राउ गरेर कारबाही भएपछि चोरी लगभग नियन्त्रण भएको थियो ।

तर अहिले मानिसले हैन कुकुरले जुत्ताचप्पल चोरी गरेर प्रहरी कार्यालय आसपास नै थुपार्न लागेपछि प्रहरी नायब उपरीक्षक पाठकलगायत सबैलाई अनौठो खालको चुनौतीको सामना गर्नुपरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नजिकै रहेको मालपोत कार्यालयआसपास बस्दै आएको एक जोडी कुकुरले विभिन्न ठाउँबाट चोरी गरेर ल्याएको दुई बोरा जुत्ता, चप्पल अहिले जिल्ला प्रहरी कार्यालय दोलखाले स्टोरमा सुरक्षित राखेको छ र कसैको जुत्ता चप्पल हराएको भएर प्रहरी कार्यालयमा आई हेरेर लान सार्वजनिक आह्वानै गरेको छ ।

घटनाबारे सुनाउँदै प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले भने– ‘प्रहरी कार्यालय आसपासका वासिन्दाले केही समय अघिदेखि जुत्ताचप्पल हराएको गुनासो गरिरहेका थिए । यसबारे हामी अनुसन्धानकै क्रममा थियौ‌ । सोही क्रममा प्रहरी कार्यालयसंगै रहेको मालपोत कार्यालयको गेटआसपास र प्रहरी कार्यालयभन्दा तल रहेको जिल्ला समन्वय समितिको निर्माणाधीन हलमा छरपस्ट जुत्ताचप्पल भेटियो । त्यो कसरी आयो भनी खोजी गर्दा त्यही जोडी कुकुरले विभिन्न ठाउँबाट ल्याएको पाइयो ।’ नेपाल समाचारपत्रले यो खबर छापेको छ ।