१३ बैशाख २०८१, बिहीबार
Follow Us

अधिकारीको निधनः जसले वृद्धभत्ता ल्याएका थिए

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७५, आईतवार ०१:५२

काठमाडौँ – पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ  । ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो  ।

एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका रूपमा चर्चित छन् । उनले २०५१ सालमा सुरु गरेको वृद्धभत्ता अहिले मासिक २ हजार रुपैयाँ पुर्‍याइएको छ । अधिकारीले २०७१ बाट सक्रिय राजनीति त्यागेका थिए । नेकपाका अहिलेका धेरैजसो आर्थिक नीतिहरू उनकै पालामा सुरु भएका हुन् । ‘आर्थिक मुद्दामा हाम्रा फरक मत थिए,’ पूर्वअर्थमन्त्री रामशरण महतले भने, ‘दृष्टिकोण फरक भए पनि उहाँको नियतमा शंका गर्ने कुनै ठाउँ थिएन । मुलुकले असल व्यक्ति गुमायो ।’

२०५१ सालमा पहिलो पटक निर्वाचित कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारीले दुई पटक बजेट ल्याए । मनमोहन अधिकारी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम कम्युनिस्ट बुद्धिजीवीहरूले लेखेका हुन् । त्यसका एउटा पात्र हालका अर्थमन्त्री युवराज खतिवडा हुन् । खतिवडाका अनुसार मनमोहन सरकारको अर्थमन्त्रीमा साहना प्रधान र झलनाथ खनालको चर्चा थियो ।

‘भरतमोहन हुने स्पष्ट थिएन । साहना प्रधानले पनि अर्थशास्त्रमा एमए गर्नुभएकाले उहाँ र झलनाथ खनालको चर्चा थियो,’ उनले सुनाए, ‘तर, मनमोहनले भरतमोहनलाई रोज्नुभयो । उहाँले म जन्मेको साल २०१२ मा अर्थशास्त्रमा एमए गर्नुभएको हो ।’
अधिकारीले २०५१ पुस ११ गते निर्वाचित सरकारका तर्फबाट पहिलो पूरक बजेट ल्याए ।
त्यही बजेटबाट उनले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमका लागि ३र३ लाख रुपैयाँका दरले स्थानीय तहलाई बजेट विनियोजन गरे । मासिक एक सय रुपैयाँका दरले वृद्धवृद्धालाई भक्ताको कार्यक्रम आयो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।