८ बैशाख २०८१, शनिबार
Follow Us

घुमेर र बाँडेर ओली सरकारले सक्याे एक वर्षमा २ अर्ब

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार ०१:५८

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए। ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो। त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ।

सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र जीविकोपार्जन समस्या देखाउँदै सहायता माग्ने गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले रकम निकासा गरेपछि आर्थिक सहायता वितरण गरिएको बताए। ‘मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम नै आर्थिक सहायता वितरण हुनेगरेको छ,’ सुवेदीले भने। गत असोजमा भने सरकारले आर्थिक सहयोगका नाममा रकम नबाँडेको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ ।