१३ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङका मुख्य बजारका चोक सुधारिने

sarusaru
२१ फाल्गुन २०७५, मंगलवार ०२:५३

बागलुङ – सदरमुकाम रहेको बागलुङ नगरपालिका वडा नं. २ ले भित्री सहड निर्माण, नाली व्यवस्थापन र चोक सुधारका काम थालेको छ । चालु आर्थिक बर्षका लागि नगरपालिकाले वडामा उपलव्धे बजेटबाट अधिकांश भित्रि सडक निर्माणको योजना बनाएको हो । ती योजना पुरा गर्न वडा कार्यालयले उपभोक्ता समिति बनाएर काम थालिसकेको छ । ‘समयमै काम सक्नका लागि उपभोक्तालाई जागरुक गराएका छौं’ पूर्वाधार बिकास संयोजक अर्जुन घिमिरेले भने, ‘जनताको लाभका लागि हामीले काममा ढीलाई गर्दैनौं ।’ ४९ लाख रुपैयाँ बिकास बजेट पाएको वडाले कृषि तथा पशुविकास कार्यक्रमका लागि ५ लाख रुपैयाँ बिनियोजन गर्दै बाँकी सबै रकम खर्चेर ६ वटा भित्रि सडक निर्माणको काम गरेको उनले बताए । सडकको स्तरउन्नती र नाली निर्माण लगायतका काम पनि समावेश गरीएको छ । वडाले समयमानै काम सक्ने भन्दै सबै सडकको काम थालनी गरेको घिमीरेले बताए । थोरै योजनाबाटै धेरै जनतालाई लाभ हुनेगरी सडक निर्माणको काम थालिएको उनको भनाई थियो । आगामी बैसाख अन्तिम सातासम्ममा सबै काम सक्नेगरी काम भैरहेको उनले प्रष्ट्याए ।

भित्रि सडकहरु बनेपछि बजारको मुख्य सडक हुँदै आवत जावत गर्ने पैदल यात्रु र साना सवारी साधनलाई सहज हुने उनको बिश्वास छ । जिल्लाकै केन्द्रमा रहेको बजार क्षेत्रमा समयमा काम सकेर अन्य वडाहरुलाई समेत नमुना प्रस्तुत गर्ने गरी योजना निर्माणका काम भैरहेको उनले बताए । ‘जिल्लाका अन्य गाउँ राम्रो भएर बागलुङ राम्रो भन्दैनन्, बरु वडा नं. २ राम्रो हुँदा पर्यटकको मनमा राम्रो बागलुङ भन्ने भावना पलाउँछ’ घिमिरेले भने, ‘पहिलो दृश्य आर्कषक र सफा बनाउने काम चुनौतीपूर्ण छ ।’ बजारको हाडेपाखामा ५० मीटर सडक पक्की बनाउनकालागि ७ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ । श्रीनगरटोलमा १० मीटर बाटो ढलानकालागि २ लाख रुपैयाँ बिनियोजन भएको छ । वडाको महत्वपुर्ण सडकको रुपमा लालीगुराँस चोक देखी धौलागिरी अञ्चल अस्पताल जाने भित्रिसडकमा ढुंगा बिच्छाउने योजना उनले सुनाए । झण्डै ७ सय मीटर सडकमा नाली निर्माण सहित ढुंगा बिच्छाउनकालागि १२ लाख रुपैयाँ बजेटको काम सुरु भएको हो । हल्लनचोकदेखि साविकको जिल्ला पशुसेवा कार्यालय सम्मको भित्रि सडकमा नाली सहितको सडक निर्माणका लागि १८ लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिले काम थालेको छ । हल्लनचोकदेखि पुरानो सिनेमारोड सम्मको सडक ढलान गर्न ३ लाख रुपैयाँ बजेट छ । ट्राफिक चोकको घुम्तीदेखि कालिका मन्दिर जाने बाटो निर्माणकालागि बजेट बिनियोज गरेको वडा कार्यायले उक्त बटोमा रकम खर्च नगर्ने भएको छ ।

सडक बिभागले उक्त सडक स्तरउन्नतीकोलागि काम थालिसकेकाले योजना दोहोरीन नदिन काम रोकीएको हो । सो सडकको लागि बिनियोन भएको रकम नगर कार्यपालिकाको निर्णय बमोजिम रकमान्तर गरेर अर्को योजनामा खर्च गरीने वडा अध्यक्ष जीवन आचार्यले बताए । अहिले बागलुङ बजारका अधिकांस चोकमा गह्रौ सवारी साधन फर्काउन नमिल्ने गरी साँघुरिएका छन् । सडक संकुचित भएकै कारण ट्राफिक व्यवस्थापन समेत जटिल बन्दै गएको छ । चोक सुधारका लागि भने वडा नं. २ र ३ का संयुक्त कार्यक्रम संचालन गर्ने योजना नगरपालिकाले बनाएको छ । आचार्यका अनुसार दुइवटा वडाको संयुक्त कार्यक्रम मार्फत १ करोड ५० लाख रुपैयाँ खर्चन सकिने गरी बिनियोजन छ । लालीगुराँसचोक, हल्लनचोक, गोल्डेनगेट चोक, पुरानो सिनेमा चोक तथा प्रशासन कार्यालय आसपासका सबै चोक साँघुरा छन् । ती चोक सुधार हुँदा गह्रौ सवारी साधन सहजै जाने आउने गर्न सक्छन् ।