१३ बैशाख २०८१, बिहीबार
Follow Us

“अब बोल्नुपर्छ”

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार ०८:०५

-समर्पित प्रकाश ।

म बोलिरहेको छु, एकतमासले, कुनै श्रोता बिना। म भित्र कुन्ठित भएर बसेका थुप्रै कुराहरू छन्, जसलाई म कुनै भाषाको माध्यमबाट व्यक्त गर्न त सक्दिन। तर पनि म बोल्न चाहान्छुँ, आफ्ना गुनासाहरू पोख्न चाहान्छुँ, किनकि मलाई त्यो विद्रोही बन्नु छैन जो एक दशकसम्म जुन प्रणालीका विरुद्ध लड्यो तर आज त्यही प्रणालीको हिस्सा बनेर रमाएको छ। म कुनै विद्वान पनि हैन, नत हुँ कुनै लेखक। म त केवल तीन करोड नेपाली मध्य निम्न वर्गीय एक जनता हुँ, र म हरेकको अस्तित्व स्विकार्छु भलै ती सबै म जस्तै नहुन।

मलाई कुनै “वाद”को ज्ञान छैन न त भविष्यमा कुनै राजनीति गर्न मन छ। तर मलाई यति थाहा छ कि हरेक मान्छे जन्मसिद्ध स्वतन्त्र जन्मिएपनि त्यसपछि भने आर्थिक, सामाजिक, सांस्कृतिक, र भौगोलिक जन्जालमा बाँधिएको हुन्छ। यही कुराले समाजमा असमानता पैदा गर्छ। जस्तोसुकै जन्जालमा बाँधिएपनि प्रत्येकलाई समान हक अधिकारको व्यवस्था संविधान, नियम र कानुनले गरेको हुन्छ। मेरो बुझाइमा समाजमा समानता सम्भव छैन तर समता सम्भव छ। त्यसैले नै हामीलाई नियम कानुन चाहिन्छ-बलियो, धनी, र शासक माथि नियन्त्रण गर्न र कमजोर अनि गरिबहरूलाई आधार दिन। तर यहाँ त नियम कानुन केवल हतियारको रूपमा प्रयोग गरिन्छ, तिनै टेढा बलियाहरूले गरिब र सोझा साझा जनताहरूमाथि शोषण गर्न।

अब हाम्रो देशको कुरा गरौँ। के हाम्रो देशमा साँच्चै समानता छ त? हुन त समानता कुनै पनि देशमा हुँदैन तर जति असमानता हाम्रो देशमा छ, त्यति त विरलै कतै भेटिएला। वास्तवमा यो देशमा कुनै सरकार नै थिएन भने यो उहिल्यै विकसित भइसक्थ्यो। सरकारको अस्तित्व त केवल “हुनुपर्छ त्यसैले छ”को अवस्थामा छ। यहाँ माग्नेहरूमाथि निषेध लगाइन्छ र लुट्नेहरूलाई प्रश्रय दिइन्छ। केही हजार वा लाख कमाउनेहरूमाथि पच्चिस प्रतिशतसम्म कर थोपरिन्छ तर करोडौँ वा अर्बौँ कमाउनेहरूलाई छुट दिइन्छ। गरिबहरूलाई बैङ्कहरूले विरलै पत्याउँछन्; यदि पत्याइहाले पनि उनीहरूलाई ऋणको यस्तो भारले थिचिइन्छ कि उनीहरू झन् आफ्नो गरिबीबाट कहिल्यै माथि उठ्न सक्दैनन् । तर धनीहरूलाई सहुलियत दरमा ऋणको प्रस्ताव गरिन्छ। स्वदेशी किसानहरू आफ्ना उत्पादनहरूलाई बारीमै नष्ट गर्न विवश छन् तर सरकार विदेशी उत्पादनको निर्यातलाई हौसला प्रदान गर्छ। सस्तो स्वदेशी मदिरा खोजी खोजी नष्ट गरिन्छ तर महँगो विदेशी वाइन यत्र तत्र सर्वत्र उपलब्ध छ। यहाँ जो जीवनभर जागिर गरेर बाजेको पालाको उधारो तिर्न सक्दैनन् र टेबुलमुनि हात फैलाउन बाध्य हुन्छन्, उनीहरूलाई तिनीहरूले सजाय दिन्छन् जसले सात पुस्तालाई पुग्ने सम्पत्ति भ्रष्टाचार गरेर थुपारेका हुन्छन्।

विद्यालयमा पढाउन नजान्ने शिक्षक, खेतमा काम गर्न अल्छी गर्ने किसान, कामचोर कर्मचारी, ग्राहकलाई सके जति ठग्न खोज्ने व्यापारी, खाली विदेशको मुख ताक्ने युवा जमात, व्यावसायिक पत्रकार, आवश्यक कानुनको कार्यन्वयन गर्न नसक्ने प्रशासक र नेता, र उपयुक्त नेता छान्न नजान्ने हामी जनता यो देश बिग्रिनुका प्रमुख कारण हौँ। यहाँ इमानदार मान्छे कहिल्यै नेता हुन सक्दैन, भइहाले पनि नेताहरूको भिड भएको हाम्रो देशमा त्यही भिडमा हराउँछ; बाङ्गा टेढाहरुको सर्वे-सर्वा जो छ। जहाँकहिँ पैँसा बोल्छ, पैँसा नहुनेहरूको आवाज त सडकको पेटीमै हराउँछ।

मुख्य समस्या हामी जनतामा छ। हामी सबै ज्ञानी महात्मा छौँ- बढी बुझ्दछौँ र बढी जान्दछौँ। हामी प्रायजसो कुनै न कुनै पार्टीका अन्धभक्त छौँ। हामी आफ्नो पार्टीमा कुनै चोर सदस्य हुन आयो भने उसलाई सद्दे र इमानदार ठान्छौँ र विपक्षीको एक साधुलाई बेइमान। चुनावमा, आफूसँगै गाउँमा बर्षौँ सङ्गत गरेको छिमेकीलाई विश्वास गर्न सक्दैनौँ, तर चुनाव लड्न आएको धनी पाहुनालाई हामी आँखा चिम्लेर स्वागत गर्छौँ।

समस्या देशको राजनीतिमा पनि छ। हामीले जसलाई चुनेर पठाएपनि देश चलाउने मान्छे निश्चित छन्-हरेक पार्टीका उपल्लो तहका नेता। जसले यस्तो सिस्टम खडा गरेका छन् कि कुनै नौलो शक्ति राष्ट्रिय राजनीतिमा आउनै सक्दैन। जब सम्म प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुँदैन, अवस्था यस्तै रहिरहने छ। न पहिले पञ्चायत गलत थियो, न राजा, न अहिलेका राष्ट्रपति या प्रधानमन्त्री नै। विश्वमा राजतन्त्र र निर्दलीय भएका देशहरू पनि सफल भएका, र गणतन्त्र भएका देशहरू बर्बाद भएका प्रशस्तै उदाहरणहरू छन्। त्यसैले बहस – अहिले देशमा राजतन्त्र आवश्यक कि गणतन्त्र- को होइन। बहस सुशासनको हो, जो अहिले हाम्रो देशमा हराइरहेको छ।

देशमा सुशासन ल्याउन सक्ने क्षमता हामी जनतामा छ। हामीले राम्रा मान्छेहरूलाई चिन्न र राजनीतिमा धकेल्न सक्नुपर्छ। राम्रो भाषण र मीठो गफ गर्न सक्नेहरू सधैँ राम्रा हुँदैनन् , न त राम्रा भनेर प्रचार बाजी गरिएकाहरू नै। नराम्रोको विरोध गर्नेहरू पनि सधैँ राम्रा हुँदैनन् । त्यसैले अब बोलिएको र सुनिएको प्रति विश्वास नगरौँ, बरु गरिएको र देखिएको प्रति हेरौँ र बिचार गरौँ। आफूलाई फाइदा भएसम्म विकृतिलाई संस्कृति देख्ने चस्मा अब हाम्रो आँखाबाट हामीले हटाउनु पर्छ। हामीलाई कहाँ समस्या छ थाहा छ, तर आफुलाई पिर नपरे सम्म बोल्दैनौँ किनकि हामी बिकेका छौँ प्रचारबाजीमा, नातावाद- कृपावादमा, भोज-भतेरमा, र पैसा र प्रलोभनमा। अब हाम्रो सोच समालोचनात्मक बनाउनु पर्छ र बोल्नुपर्छ- विकृति र कुसंस्कार विरुद्ध। किनकि परिवर्तन अझै आवश्यक छ।