१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अख्तियार आयुक्तलाई ७८ लाख बुझाएको राजपा नेताले स्वीकारे

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार ०१:३९

काठमाडौं –राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन्।

आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

झाले भनेका छन्, ‘पाठकलाई एकपटक ४० लाख र अर्कोपटक ३८ लाख रकम दिएको हुँ।’ अख्तियारले झासँग शुक्रबार, आइतबार र मंगलबार बयान लिएको छ। ‘न्यौपानेको कलेजमा विवाद रहेछ। साथीभाइका नाताले न्यौपानेले एकपटक आयुक्तसँग भेट्ने कुरा गर्नुभयो,’ झाले लिखित बयानमा भनेका छन्, ‘दसैं अगाडि राजनारायणसँग भेट गराएको हुँ। न्यौपानेले आफ्ना कुरा राख्नुभयो, पाठकले सहयोग गर्छु भन्नुभयो।’

झाको राजनारायणसँगको सम्पर्क भाइ शुभनारायणमार्फत भएको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।