७ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपा (संयुक्त) ले हिन्दु राष्ट्रको पूनस्र्थापना र भ्रष्टाचार विरुद्धमा आन्दोलन गर्ने

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार १४:५४

राजविराज । राप्रपा (संयुक्त) ले राजसंस्था, हिन्दु राष्ट्रको पूनस्र्थापना र भ्रष्टाचार विरुद्धमा आन्दोलन गर्ने उद्घोष गरेको छ ।

‘राष्ट्रपति निष्पक्ष नहुने हुँदा सबैलाई स्वीकार्य हुने राजसंस्थाको आवश्यक्ता छ । पृथ्वीनारायण शाह, बहादुर शाह लगायतका शाह वंशले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको कारण राजसंस्थाको सम्मान गर्न आवश्यक छ,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले बताउनुभयो ।

राजविराजमा बुधबार सम्पन्न कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले राप्रपा (संयुक्त) ले समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादीलाई एकीकृत गर्दै जाने बताउनुभयो ।

‘आगामी चरणहरुमा राप्रपा (संयुक्त) मा अझ बढी नेता, कार्यकताहरु समाहित हुनेछन् । अब यो जुटेको पार्टी कहिले फुट्ने छैन । राष्ट्रलाई सही नेतृत्व गर्ने पार्टीको रुपमा उदय हुनेछ । यो एकता अभियान अझ बढी फराकिलो रुपमा बढ्नेछ, अझ मजबुत बन्नेछ,’ राणाले भन्नुभयो ।

राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने अध्यक्ष राणाले बताउनुभयो । ‘यसका अतिरिक्त हामी भ्रष्टाचारको विरुद्धमा समेत आन्दोलन संचालन गर्नेछौं ।’

राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मधेस लगायतका पिछडिएका क्षेत्र, समुदायको नाममा सत्तारुढ पक्षले नारा मात्र लगाउने काम गरेको बताउनुभयो ।

‘सरकार पक्षले सामाजिक न्यायको निमित्त नतिजामूलक रुपमा केही गरेको छैन । उदाहरण रुपमा भन्ने हो भने, नाराको विपरीत मधेसमा भएका सबै कलकारखाना, उद्योग व्यवसाय धराशयी बनाइएका छन् । यसकारण मधेस लगायत सबै पिछडिएका क्षेत्र, समुदायको पक्षमा राप्रपा (संयुक्त) ले ठोस नतिजा हासिल गर्ने लक्ष्य लिएको छ ।’

‘राजा सहितको प्रजातन्त्रको मोडलमा विश्वका धेरै प्रजातान्त्रिक मुलुकहरुले समाजिक न्याय, विकास र समृद्धि प्राप्त गरेको छ । यो यथार्थ हो । त्यसकारण राजा सहितको प्रजातन्त्रको अवधारणालाई पच्छगामी देख्नु गल्ती हो,’ अध्यक्ष लोहनीले भन्नुभयो ।

अध्यक्ष लोहनीले भन्नुभयो, ‘दुइृ तिहाईको सरकारले विकास र स्थायित्व दिन्छ भन्ने ठूलो आशा थियो । तर, नेकपा सरकारले सिंहदरबारको भ्रष्टाचार मात्र गाउँ गाउँ पुर्याउन सफल भएको छ ।’