१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चौधरीको पदीय हैसियत निलम्बित मात्रै, निर्वाचन क्षेत्र रिक्त नहुने

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार ०१:३७

काठमाडौं – टीकापुर नरसंहार घटनाका अभियुक्त रहेका रेशमलाल चौधरीलाई जिल्ला अदालतले जन्मकैदको सजाय तोके पनि उनको पद भने निलम्बित अवस्थामै रहने तर्क विज्ञहरूले गरेका छन्। चौधरी भने कर्तव्य ज्यान मुद्दा चलेदेखि स्वतः निलम्बित अवस्थामा थिए।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रतिनिधिसभा नियमावलीको नियम २४४ को उपनियम ४ ले निलम्बन हुने व्यवस्था गरेको बताए। उक्त उपनियममा कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैद सजाय हुने ठहर भएमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिने उल्लेख छ। ‘यो प्रावधानअनुसार अन्तिम फैसला नभएकाले सांसद पद निलम्बित अवस्थामा रहन्छ। यो नियमावलीअनुसार निर्वाचन क्षेत्र रिक्त भएर फैरि अर्को निर्वाचन गर्न सकिँदैन,’ प्रवक्ता पाण्डेले भने, ‘तर पनि यो कानुनी बहसकै विषय छ।’

संविधानविद् डा विपिन अधिकारीले पनि चौधरीलाई सांसद आचारको अन्तर्राष्ट्रिय मान्यताको बर्खिलाप शपथ खुवाएर पदच्युत हुने अवस्थाबाट जोगाइएको बताए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।