१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आन्दोलनरत शिक्षक र सरकारबीच तीन बुँदे सहमति

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार ०७:४१

काठमाडौँ– शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका छन् ।
सहमति अनुसार तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइएको छ । शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत शिक्षकलाई पनि समावेश गर्ने सहमतिमा उल्लेख छ ।
त्यस्तै आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका शिक्षकहरुको निःशुल्क उपचार गर्ने सहमति पनि भएको छ । यस्तै ऐन पारित भएपछि नियमावली बनाउँदा आन्तरिक प्रतिस्पर्धातर्फको कोटा बढाउने र अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति भएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेम अधिकारीले जानकारी दिए ।
वार्तामा शिक्षा मन्त्रालयका सचिव खगराज अधिकारी, सहसचिव कृष्ण काप्री तथा आन्दोलनरत शिक्षकका तर्फबाट अधिकारी लगायतको सहभागिता रहेको थियो ।