१३ बैशाख २०८१, बिहीबार
Follow Us

हेलिकप्टरको एक सिट घटाउने निर्णय, ओली चढेको विमान होल्ड प्रकरणले हंगामा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार १८:४८

काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ।
पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै नियामक निकाय क्यानले हेलिकप्टरको एउटा सिट हटाउने निर्णय गरेको हो ।
यो निर्णय सेवाप्रदायक कम्पनीहरुकै सहमतिको आधारमा गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए ।
क्यानका अनुसार आजदेखि प्रत्येक हेलिकप्टरबाट एउटा सिट हटाइने छ । हाल ६ सिट क्षमता भएका हेलिकप्टरले पाइलट नजिकै हुने सिटमा समेत यात्रु राख्दै आएका थिए । अब सो सिट काटिने बताइएको छ ।
९ दिनअघि ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो । उक्त उडानमामा सात जना यात्रु बोकिएको भन्दै आलोचना समेत भएको थियो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौँ अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानून मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य छन् ।

विशिष्ठ व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
फागुन २१ गते मङ्गलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ । विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ ।