८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान कार्यान्वयनमा सहमति जुटाउन आग्रह

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार १३:५६

काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्न प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलाठूला राजनीतिक सङ्कट र विवादलाई समेत प्रमुख दलको सहमतिमा नै सहजताका साथ अगाडि बढाइएको र मुलुकलाई निकास दिएको जनाउँदै उहाँले संविधान कार्यान्वयनमा पनि त्यस्तै एकता प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई कार्यान्वयन गर्ने सवालमा केही विषय अगाडि बढेको भए पनि महत्वपूर्ण कार्यभार बाँकी छ भन्दै उहाँले विवाद बढाउनेभन्दा पनि विवाद घटाउनेतिर लाग्नमा जोड दिनुभयो ।
उहाँले प्रमुख दलको सहमतिमा संविधानसँग जोडिएका विभिन्न समिति पनि छिट्टै गठन हुने र त्यसको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । संसद्कै महत्वपूर्ण समितिका रुपमा रहेको लेखा समितिको सभापति चयन गर्न आफूले दललाई आग्रह गरिसकेको बताउँदै उहाँले दसैँलगत्तै सो समितिले नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घर्तीले निर्वाचनसम्बन्धी कानुनको प्रक्रिया पनि अगाडि बढेकाले दललाई मिलेर अगाडि बढ्न र नेपाली जनतालाई चाडबाडका समयमा सकारात्मक सन्देश दिन अनुरोध गर्नुभयो ।