२६ बैशाख २०८१, बुधबार
Follow Us

सिके राउतले आफ्नो माग र संगठन दुवै त्यागे, आज प्रधानमन्त्रीसँग संयुक्त सम्बोधन गर्दै

sarusaru
२४ फाल्गुन २०७५, शुक्रबार ०६:४०

काठमाडौं। सिके राउत अन्ततः आफ्नो मुख्य मागबाट पछि हट्ने भएका छन् । उनी अहिलेसम्म आफूले स्वतन्त्र मधेशको माग राख्दै संचालन गरिरहेको संगठनसमेत विघटना गर्न तयार भएका छन् । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउनले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

लगत्तै आश्चर्यजनक रुपमा आजै उनको प्रधानमन्त्रीसँग विशेष सम्बोधन छ । देश नै टुक्र्याउने माग लिएर अगाडि बढेका सिके राउत एक्कासी आफ्नो मागबाट पछि हट्नु, आफ्नो मागको ठिक विपरित कुरा स्वीकार गर्नु र जेलबाट निस्किएलगत्ते प्रधानमन्त्रीको उपस्थितिमा सम्बोधनको कार्यक्रम राखिनुले नेपाली राजीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएको राजनीतिक एवं सुरक्षा स्रोतहरुले पुष्टि गरेका छन्। राष्ट्रिय सभागृहमा आज सम्बोधनको कार्यक्रम राखिएको छ ।

‘अलग मधेश राज्यको माग गरिरहेका सिके राउतले सरकारसँग गोप्य रूपमा अखण्ड नेपाल स्वीकार्ने सहमति गरेको र त्यसको घोषणा गर्नका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ । राउत अध्यक्ष रहेको स्वतन्त्र मधेस गठबन्धन समेत आजैबाट बिघटन हुने स्रोतले बतायो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन्। उनले के कार्यक्रम हो भन्ने खुलाएका छैनन्। तर सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी गरिएको छ। राउतले आफूसँग सम्पर्कमा रहेका सञ्चारकर्मीलाई मध्यान्ह १२ बजे राष्ट्रिय सभागृह आउन निम्ता गरेका छन्।

राज्यविरुद्धको अभियोगमा थुनामा रहेका राउत बिहीबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। जिल्ला अदालत गौरमा विचाराधीन मुद्दाको तारिख लिएर फर्कदै गर्दा असोज २१ गते प्रहरीले राउतलाई पक्राउ गरेको थियो। स्वतन्त्र मधेस राज्यको माग गर्दै तराइका जिल्लाहरूमा तालिम तथा संगठन बढाइरहेका बेला उनलाइ राज्यविरूद्धको अभियोगमा पक्राउ गरिएको थियो। बिहीबार सर्वाेच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको थियो।
डिसी नेपाल