७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा संघर्षको सुरसारमा, फोरम के गर्ला ?

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार ०२:१४

काठमाडौं – कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीले टीकापुर घटनामा जन्मकैद पाएपछि राजपाले संघर्षको सुरसार गरेको छ। साढे तीन वर्षअघि संविधानविरुद्ध भएको आन्दोलन (तात्कालीन सबै मधेसी पार्टीहरूको सहकार्यमा भएको प्रदर्शन)का क्रममा टीकापुर घटना भएको भन्दै राजपाले आफ्ना सांसदलाई अपराधी घोषणा गर्नुलाई बदनियत भनेको छ।

टीकापुर घटनामा मुछिएका थिए, रेशमसहितका थारू अगुवा। कैलाली जिल्ला अदालतले बुधबार रेशमसहित ११ जनालाई जन्मकैद दिए पनि लक्ष्मण थारूलगायत केही रिहा भएका छन्। बुधबारको फैसलालगत्तै राजपाले अध्यक्षमण्डलको बैठक गरेर नेकपाको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संघर्षमा जाने घोषणा गरिसकेको छ।

तर यसअघिका आन्दोलनदेखि निर्वाचनसम्म सहकार्यमै रहेको संघीय समाजवादी फोरमले भने यस विषयमा मुख खोलेको छैन। प्रतिनिधिसभामा राजपाका १७ र फोरम नेपालका १६ सिट छन्।

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री छन्। कैलाली अदालतको फैसलापछि शुक्रबार साँझसम्म फोरमको प्रतिक्रिया सार्वजनिक भएको छैन। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।