१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एउटा चुनाव जित्दैमा राजपाले फुर्ती नलाए हुन्छः प्रधानमन्त्री ओली

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार १५:२९

रौतहट–प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका कारण देश विकास सहज भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताए । “स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं,” उनले भने, “एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो ।”
तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिए ।
संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको बताए । उनले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरे ।
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुण्तामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाए ।
लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको जानकारी दिए ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतले पनि सम्बोधन गरेका थिए ।