१५ बैशाख २०८१, शनिबार
Follow Us

१४ वर्षीया बालिकाको गुपचुप बिहे, प्रहरीमा उजुरी

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार १५:३०

नुवाकोट– बालबिबाह गराएको भन्दै अभिभावकविरुद्ध प्रहरीमा उजुरी परेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित काप्रेकी १४ वर्षीया बालिका पिंकी तामाङको गाउँकै २१ वर्षीय काले तामाङसँग गुपचुप बिबाह गराएको भन्दै अभिभावकविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला सेलमा उजुरी परेको हो ।
स्थानीय श्री शंखादेवी माविमा कक्षा ७ मा अध्ययनरत बालिकालाई काका सोनाम तामाङ र कान्छीआमा विमला तामाङले फूपूका छोरा काले तामाङसँग फागुन २१ गते गुपचुपरुपमा बिबाह गराएको बालिकाकी आफन्त (बालिकाकी ठूलोबाबाको छोरी) सुनिता तामाङले जानकारी दिइन् ।
आफू सदरमुकाममा रहेको बेला आफूलाई समेत कुनै जानकारी नदिई बालिकाको बिबाह गराएको उनको भनाई छ । बहिनीको बालबिबाह भएको जानकारी पाएपछि आफूले फागुन २२ गते जिल्ला महिला सेलमा बालिकाकी काका सोनाम कान्छीआमा विमला र केटाका बुबा चतुर्मान तामाङविरुद्ध उजुरी दर्ता गराएको उनले बताइन् ।
स्थानीय शिक्षक जगन तामाङले पनि बालबिबाह भएको जानकारी आएको बताए । बिहेपछि बालिका बेहुलाकै घरमा रहेको बताइएको छ ।
सुनिताले आफूले बालबिबाहविरुद्ध उजुरी गर्दा स्थानीय टाठाबाठा भनिनेहरुले अनेकन मानसिक तनाव दिएको समेत गुनासो गरिन् । उनका अनुसार उजुरीपछि सम्बन्धितलाई आइतबारका लागि प्रहरी कार्यालयमा छलफलमा बोलाइएको छ ।
तामाङ बाहुल्य रहेको तारकेश्वर ५ मा यसअघिपनि बालबिबाह हुने गरेको स्थानीय बताउँछन् ।