१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति न्यूयोर्क प्रस्थान, कार्यबाहक राष्ट्रपति बने पासाङ

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७५, आईतवार १५:४९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन् ।

राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय सभामुख , राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहित मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।
यसैबीच कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई दिइएको छ ।