१४ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमतिले दिइन् पतिको चितामा दागबत्ती

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७३, शुक्रबार ०८:०१

घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् ।

परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमान्को अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन् ।

दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन् ।

करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमान्को मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भइन् ।

श्रीमान्को दागबत्ती श्रीमतीले दिने चलन त हाम्रो मैथिली संस्कारमा छैन रु भन्ने पत्रकारको जिज्ञासामा गुलेवियाले भनिन् – “त्यो त हो, तर पहिला थिए, अब विस्तारै विस्तारै समाजमा यस्ता जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।”

आफ्नो श्रीमान्को दागबत्ती कसलाई दिन मन लाग्छ र यो त मेरोे बाध्यता रहेको जनाउँदै उनले भनिन् – “मेरा दुईवटा छोरामध्ये जेठो छोरा रामबाबु कामको सिलसिलमा कतारमा छन् भने कान्छो छोरा वीरेन्द्र मलेसियामा कार्यरत रहेका छन् ।

बुबाको निधन भए पनि त्यहाँको कम्पनीले दुबै छोराको घर आउने बिदा स्वीकृत नगरिएको, स—साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले यो कदम उठानुपरेको उहाँको कथन छ ।”

समाजका भद्रभलाद्मीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै उनको चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाइ छ ।
समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि गुलेवियाले अहम् भूमिका निर्वाह गरेको महिला अधिकारकर्मी सुनिता कुमारीको भनाई छ ।

सदियौँदेखि चलिआएको यस्ता कुरीति एवम् कुसंस्कारलाई तोडेर गुलेवियाले राम्रो काम गरेको छ, नेपाल कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष दिनेश महतोले भन्नुभयो । रासस