१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्रिटिस कलेज माथि विद्यार्थी मारेको आरोप, घटना अतिरञ्जित : संचालक

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७५, आईतवार २०:२३

लण्डन । शैक्षिक भ्रमणका क्रममा दुबईको समुद्रमा डुबेर विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एकपक्षीय रूपमा गरिएको समाचार सम्प्रेषणप्रति द ब्रिटिश कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

थापाथली, काठमाडौँस्थित कलेजले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणका क्रममा समुद्रमा डुबेर मृत्यु भएका विद्यार्थी गौरव श्रेष्ठको परिवार मिडियामा अतिरञ्जित तवरले प्रचारबाजीमा उत्रेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँदै आएको र उक्त भ्रमण विद्यार्थी र अभिभावकको स्वीकृतिमै गरिने विज्ञप्तिमा जनाइएको छ ।

यसै सन्दर्भमा गत १२ फेब्रुअरीमा २६ जना विद्यार्थीको समूह दुबई भ्रमणमा गएको र सोही क्रममा विद्यार्थी गौरव श्रेष्ठको समुद्रमा पौडि खेल्दा उनको ज्यान गएको थियो । समुद्रमा पौडि खेल्न सख्त मनाही गर्दागर्दै श्रेष्ठ अटेर गरि पौडिन गएको र सोही कारण उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थीलाई कलेजले लैजाने शैक्षिक भ्रमण अनिवार्य नभई ईच्छुक विद्यार्थीहरूको लागि मात्रै भएको समेत कलेजले जनाएको छ ।

विद्यार्थीको मृत्युपश्चात उनको शवलाई छिटोभन्दा छिटो स्वदेश ल्याउन कलेजले निकै ठूलो प्रयत्न गरेको र विद्यार्थीको मृत्युले कलेज परिवार समेत अत्यन्त दुःखी भएको बताउँदै अनर्गल प्रचारबाजी नगर्न मृतक विद्यार्थीको परिवारलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

विद्यार्थीको मृत्यु अन्य कारणले भएको भए सम्बन्धित व्यक्तिहरू दुबई प्रहरीको कार्वाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने जानकारी समेत विज्ञप्तिमा गराइएको छ ।

प्रेस विज्ञप्ति पुर्णपाठ

‘द ब्रिटिश कलेज’ले हरेक वर्ष आफ्ना विद्यार्थीहरुलाई बेलायत, दुवई, सिंगापुर लगायत अन्य मुलुकहरुमा अन्तर्राष्ट्रिय भ्रमण गराउँदै आएको छ । यस खालका भ्रमणहरु विद्यार्थी र अभिभावकहरुको स्वीकृतिमा गर्ने गरिन्छ । यसपटकको दुवई भ्रमण १२ फ्रेबुअरीमा २६ जना विद्यार्थी समुहबिचमा भएको थियो । यसैक्रममा कलेजका २० वर्षिय विद्यार्थी गौरव श्रेष्ठ पनि शैक्षिक भ्रमणमा दुवई गएका थिए । र उनको समुन्द्रमा डुबेर निधन भएको थियो । सो घटनाको बारेमा विद्यार्थीका बुबा महेन्द्र श्रेष्ठले मिडियामा एकपक्षिय रुपमा अतिरञ्जित तवरले गरेको समाचार सम्प्रेषणप्रति द ब्रिटिस कलेजको ध्यानाकर्षण भएको छ ।

भ्रमण अगाडि विद्यार्थीहरुलाई दुवईमा गरिने सम्पुर्ण कार्यक्रम, नीति नियम तथा उनीहरुले पालना गर्नुपर्ने अनुशासन लगायतको बारेमा दुई चरणको ‘इन्डक्सन’ कलेजका प्रिन्सिपलबाट दिइएको थियो । उक्त भ्रमण कलेजको तर्फबाट अनिवार्य नभई इच्छुक विद्यार्थीहरुको लागि मात्र थियो ।

स्वयम विद्यार्थी गौरव श्रेष्ठ पनि आफ्नो अभिभावकसँग लिखित स्वीकृतिमा उक्त भ्रमणमा सहभागी भएका थिए । यो भ्रमणमा पनि नेपाल छोड्नु अघि र दुवई घुम्नु अगाडि समुन्द्रमा पौडी खेल्न सख्त मनाही गरिएको थियो । त्यसै क्रममा १४ फ्रेबअरीका दिन जुमेरिया मस्जिद र नजिकको ला मेर बीचमा घुम्ने कार्यक्रम तय थियो । तर, त्यो आधा घण्टाको बीचमा घुम्ने कार्यक्रममा कलेजको निर्देशन र नियमलाई अवज्ञा गर्दै गौरव श्रेष्ठ र अर्का एक विद्यार्थी समुन्द्रमा सेल्फी खिच्दै पौडी खेल्न थाले । तर, पनि उनीहरुलाई पानीबाट आउन बारम्बार अनुरोध गरियो । उक्त अनुरोधको अवज्ञा र अटेर गरेको भिडियो उनीहरुको साथीहरुले खिचेको मोबाइलमा सुरक्षित छ ।

उक्त ठाउँ ९बीच० सुनसान नभई युरोपियन पर्यटकहरुले भरिएको थियो । साथै त्यो ठाउँमा ३ जना लाइफ गार्ड पनि तैनाथ थिए । उनीहरुको काम त्यो समुन्द्रको छेउमा पौडी खेल्नेहरुको सुरक्षाको लागि हुने गर्छ ।

दुर्घटना लगत्तै कलेजले कुनै कसर बाँकी नराखी जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेको थियो । घटनाको जानकारी पाउने बित्तिकै कलेजका सिइओ अफ्रिकाको भ्रमण तुरुन्तै रद्द गरेर फेब्रुअरी १६ को बिहानै ५ः३० ९स्थानीय समय० मा घटनास्थलतर्फ पुगेका थिए । सोही समयमा घटनाको प्रभावकारी अनुसन्धानको लागि दुबईमा थप ३ जना व्यक्ति परिचालन गरियो भने नेपालमा पनि कलेजका उच्च पदस्थ व्यक्तिहरु प्रिन्सिपल, डिन र अप्रेसन डाइरेक्टर सहितको ३ जनाको समूह पनि निर्माण गरियो । तत्कालै मृतक विद्यार्थीको नजिकको आफन्त धिरज श्रेष्ठलाई कलेजकै खर्चमा दुबई पठाइयो । तथ्य कुरा थाहा होस् भनेर विद्यार्थीका आफन्त धिरजलाई त्यहाँ पठाइएको थियो । दुबई प्रहरी र त्यहाँको अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार उक्त घटना दुर्भाग्यवश घटेको र पानीमा डुबेर निधन भएको घोषणा भयो ।

दुबई प्रहरीको फरेन्सीक रिपोर्टअनुसार गौरवलाई पानीमुनी डुबेको देख्ने बित्तिकै लाइफगार्डहरुले पानीबाट निकालेर प्राथमिक उपचार र (सीपीआर) पनि दिएका थिए । साथै,उनलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । तर, दुर्भाग्यवश अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको अस्पतालले जानकारी दियो ।

स्मरण रहोस्, दुबई प्रहरीले आफुलाई विश्वमै प्रतिष्ठित प्रहरीको रूपमा स्थापित गरेको छ । यदी त्यो घटना अन्य प्रकृतिको भए सम्बन्धित व्यक्तिहरू कार्वाहीको दायरामा आइसक्ने र सम्बन्धित व्यक्तिहरू नेपाल आउने अनुमति पनि रोकिने थियो । कलेजको विशेष पहलमा गौरवको शव १ हप्तामै नेपाल ल्याउने सम्भव भएको थियो । अन्यथा ३–४ हप्ता लाग्नु सामान्य नै मान्ने गरिन्छ । यी सबै कुरा सम्भव गर्न कलेजको तर्फबाट ठूलै धनराशी खर्च भएको छ । गौरवको निधनले सम्पूर्ण ब्रिटिश कलेज परिवार गहिरो शोक र दुःखमा परेको छ ।

कलेजका उच्चपदस्थ व्यक्तिहरू रात–दिन नै खटेर नेपालमा गौरवको शव ल्याउन र मृतक परिवारलाई सान्तवना दिन कुनै कसर बाँकी नराखेको जानकारी गराउछौँ । तर, दुःखको कुरा, अहिले गौरवको परिवारले कलेजको व्यवस्थापनालाई धम्क्याउने, गालीगलौज गर्ने र कलेजको नकारात्मक प्रचारबाजी गर्न सुरू गरेकोले उक्त कार्य तत्काल बन्द गर्न हामी विनम्र अनुरोध गर्दछौँ ।

एउटा परिवारले आफ्नो सदस्य गुमाउँदा हुने मर्म र दुःखलाई हामी राम्रोसँग बुझ्दछौँ । र, यस घटनाप्रति नेपालको सम्बन्धित प्रशासन र व्यक्तिहरूलाई कुनै पनि खालको अनुसन्धानमा सहयोग गर्न हामी सदा कटिबद्ध छौँ ।

द ब्रिटिस कलेज परिवार