१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्रको मधेस यात्रा, धार्मिक भ्रमणको राजनीतिक उद्देश्य


२७ फाल्गुन २०७५, सोमबार ०७:४०

काठमाडौं– पछिल्लो समय देश दौडाहामा जुटेका पूर्वराजा ज्ञानेन्द्र शाहको मधेस भ्रमण कार्यक्रम सार्वजनिक भएको छ । मधेसमा तीब्र राजनीतिक घटनाक्रम विकास भइरहेको बेला पूर्वराजा मधेस भ्रमणमा निस्कन लागेका हुन् ।
सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले पूर्वराजाको मधेस भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् । उनका अनुसार पूर्वराजाको मधेस भ्रमण फागुन २९ देखि जनकपुरबाट सुरु हुनेछ ।
भ्रमणका क्रममा शाह सर्लाही, उदयपूर र सप्तरी जिल्लासम्म पुग्नेछन् ।

पाठकका अनुसार २९ गते जनकपुरमा बास बसेर पूर्वराजा फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । अनपेक्षित रुपमा मधेसको राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ ।