८ बैशाख २०८१, शनिबार
Follow Us

बस र हाइस जुध्दा १० जना घाइते, तीनको अवस्था गम्भीर

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७३, शुक्रबार ०८:०६

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा आज बिहान ६ः१५ बजे एउटा बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

बुटवलबाट काठमाडौँतर्फ गुडिरहेको ना ६ ख ८८७ नंको बस र काठमाडौँबाट बुटवलतर्फ गुडिरहेको बा २ ख २०४१ नंको हाइस गाडी एकआपसमा जुध्दा १० जना घाइते भएका छन् । हाइसका गाडी चालकको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको नाम ठेगाना खुल्न सकेको छैन ।

घाइतेमध्ये पाँचजनाको दलदलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ । तीनजना गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइतेमा हाइसका यात्रु बढी रहेका छन् ।

उनीहरुको टाउको र छातीमा बढी चोट रहेको अस्पतालले जनाएको छ । घाइतेमा अर्घाखाँचीका कृष्ण रायमाझी र सोही ठाउँका अङ्कित पन्थीको नाम खुलेको छ भने अन्यको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस