१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा ७३७ म्याक्स जहाज माथि प्रतिवन्ध


२८ फाल्गुन २०७५, मंगलवार १५:००

लण्डन । वेलायतले बोइङ ७३७ म्याक्स विमान माथि उडान प्रतिबन्ध लगाएको छ । वेलायतस्थित नागरिक उड्य प्राधिकरणले मंगलवार एक विज्ञप्ति जारी गर्दै सो विमानलाई वेलायतको आकासमा उडान तथा अवतरणमा प्रतिवन्ध लगाएको हो ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोवीका लागि उडेको बोइङ ७३७ म्याक्स ८ जहाजमा उडेलगत्तै समस्या देखिएको थियो। यसअघि चीनले समेत सो विमान माथि प्रतिवन्धको घोषणा गरेको थियो ।

बोइङको ७३७ सिरिजमा म्याक्स पछिल्लो मोडल हो। यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती छ। बोइङका ७३७ सिरिजका यसअघिका जहाजहरू सबैभन्दा सुरक्षितमध्ये मानिन्छन्। म्याक्सको ७, ८, ९ र १० मोडलका जहाजले १३८ देखि २०४ जनासम्म यात्रु बोक्न सक्छन्। दुई लहरमात्र सिट भएका यी जहाज छोटो र मध्यम दूरीका लागि उपयुक्त छन्।

लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा नै समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसकारण उड्ययन विज्ञहरूले यो जहाजको नियन्त्रण प्रणालीको समस्या भएको हुन सक्ने अनुमान गरेका छन्।

इन्जिनमा समस्या हुन सक्ने ठानेर निर्माता बोइङले म्याक्स जहाजका सबै परीक्षण उडान २०१७ मेमा केही समयका लागि स्थगित गरेको थियो। त्यसको १० दिनपछि समस्या समाधान भएको बताएको थियो।

बोइङले इन्डोनेसियाली अधिकारीहरूसँग सहकार्य गरेर लायन एयरको जहाज दुर्घटनाको अनुसन्धान गरिरहेको छ र इथियोपियामा पनि आफ्नो प्राविधिक टोली पठाएको छ। दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परिसकेको छ।

लायन एयर दुर्घटनापछि बोइङले वायुसेवा कम्पनीहरूलाई ७३७ म्याक्स जहाजले सेन्सरबाट गलत डाटा आएमा जहाजको नाक ९अघिल्लो भाग० आफैं तलतिर सोझिन सक्ने चेतावनी दिएको थियो। उसले यो समस्या पाइलटले केही समयका लागि सेन्सर प्रणालीलाई बन्द गरेर हटाउन सक्ने बताएको थियो।