८ बैशाख २०८१, शनिबार
Follow Us

युवाकवि नवराज पराजुली फेरी पनि लण्डनमा


२८ फाल्गुन २०७५, मंगलवार १६:२३

लण्डन । लोकप्रिय युवाकवि नवराज पराजुली आफ्नो कविताको जादु छर्न फेरि एकपटक लण्डन आइपुगेका छन् । गतवर्ष लण्डन कविता कन्सर्ट १ भव्य रुपमा सम्पन्न भएको ठीक एक वर्षपछि पराजुली लण्डन कविता कन्सर्ट २ को लागि वेलायत आएका हुन् ।

उनी आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने सो कन्सर्टमा सहभागि हुन् मंगलवार लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिएका हुन् । कवि पराजुली लण्डन आइपुग्दा गैरआवासीय नेपाली संघका नेता कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिमखडा, पत्रकारद्धय नरेन्द्र बस्नेत, जगन कार्कीले स्वागत गरेका थिए ।

क्षेत्री समाज यूकेको आयोजनामा हुन लागेको यो कविता कन्सर्टबाट संकलन हुने कोषबाट भुकम्प अतिप्रभावित सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा ईलाइब्रेरी स्थापना गर्ने लक्ष्य राखिएको छ । १६ लाख रुपियाँको लगानी लाग्ने उक्त लाईब्रेरीका लागि यो च्यारिटी कन्सर्टबाट आवश्यक कोष जुट्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रामशरण सिमखडाले जनाए ।

कार्यक्रमका मुख्य आकर्षण कवि नवराज पराजुलीले करिब १ घण्टा १५ मिनेटसम्म आफ्नो प्रस्तुति गर्नेछन् । बेलायतमै क्रियाशिल विभिन्न ५ स्रष्टाले समेत त्यसअवसरमा आफ्ना गजलवाचन गर्ने कार्यक्रमतय गरिएको छ ।

युवा पुस्तामा निकै लोकप्रिय कवि पराजुलीले कार्यक्रममा आफ्ना नयां सिर्जनाहरु समेत प्रस्तुती दिने छन् ।