१३ बैशाख २०८१, बिहीबार
Follow Us

सीके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग


२९ फाल्गुन २०७५, बुधबार ०७:०४

‘विखण्डनकारी नारा लाउनु निन्दनीय’

काठमाडौं। सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।

विवेकशील साझाले विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासको सधैँ स्वागत गरे पनि राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग भएको भन्दै निन्दासमेत गरेको छ।

‘सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समुहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ। त्यसको विवेकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानूनी कारवाहीको माग गर्दछ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विवेकशील साझाले ११ बुँदे सहमतिमा प्रधानमन्त्री स्वयंको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर भएको आरोपसमेत लगाएको छ।

उसले सहमति खारेजीको मागसमेत गरेको छ। ‘सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सिर्जना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ वक्तव्यमा भनिएको छ ‘अन्यथा यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनु पर्ने कुरामा समेत हामी सरकारलाई सचेत गराउन चाहन्छौं।’