१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुर्खेती समाज दक्षिण कोरियाद्वारा ७० हजार सहयोग


२९ फाल्गुन २०७५, बुधबार ०८:०६

सुर्खेत- सुर्खेत समाज दक्षिण कोरियाले वीरेन्द्रनगर–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पानी ट्याङ्की निर्माणका लागि ७० हजार रुपियाँ सहयोग गरेको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको पहलमा दक्षिण कोरियामा रहेका सुर्खेतीहरुले विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो।

सुर्खेत समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष गणेश अधिकारीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रैको विद्यालय भए पनि विद्यार्थीहरुलाई खानेपानीको समस्या रहेको जानकारी पाएपछि दक्षिण कोरियामा कार्यरत सुर्खेतीहरुले रकम संकलन गरेर पठाएको बताए। ‘विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले संकलिन रकम हस्तान्तरण गरेका हौं’ पूर्व अध्यक्ष अधिकारीले भने, ‘मजदूरी गरेर कमाएको रकमबाट कोरियामा रहेका सुर्खेतीहरुले सहयोग गरेका हुन्, यसको राम्रोसँग सदुपयोग गर्नुहोला।’

विद्यालयमा खानेपानीको ट्याङ्की निर्माणका लागि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष तुलस गुरुङ, निर्वतमान अध्यक्ष लक्ष्मीनारायण बस्नेतलगायतले सहयोग संकलन गरेको उनले जानकारी दिए।

नगरपालिकाका मेयर देवकुमार सुवेदीले विदेशमा रहेका नेपालीहरुमा रहेको देशभक्ती र मायालाई सबैले अनुशरण गर्नुपर्ने बताए। ‘अर्काको मुलुकमा श्रम गर्न गएका नेपालीहरुले स्वदेशका लागि उल्लेखनीय कामहरु गरेका छन्’ उनले भने, ‘त्यस्तै संस्कारको विकास स्वदेशभित्र पनि विकास गर्न जरुरी छ।’ उनले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयलाई कोरियामा रहेका सुर्खेतीहरुले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै थप सहयोग र सहकार्यको आवश्यकता औल्याए।

विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाईले दक्षिण कोरियामा कार्यरत सुर्खेतीहरुले गरेको सहयोग विद्यालयका लागि महत्वपूर्ण रहेको बताउँदै यसको सही सदुपयोग गर्ने बताइन्। ‘प्रदेश राजधानीभित्रैको विद्यालय भएपनि यहाँ कसैको नजर परेको थिएन्’ उनले भनिन्, ‘सुर्खेती समाज दक्षिण कोरियाले गरेको सहयोगले अरुलाई पनि प्रेरणा दिने अपेक्षा लिएका छौं।’